खोटाङ, २१ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजन भएका बजेटमार्फत जिल्लामा सञ्चालन भएका विकासे योजनाको अनुगमन गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) खोटाङको तेस्रो पूर्ण बैठकले जिल्लामा स्थानीय तहदेखि सङ्घीय सरकारमार्फत विनियोजित बजेटबाट सञ्चालन भएका सम्पूर्ण योजनाहरु अनुगमन गर्दै उक्त विकासे योजनामा भए÷गरेका भ्रष्टाचार तथा अनियमितताको पर्दाफाँस गर्ने निर्णय गरेको हो ।
तीन तहको निर्वाचन पश्चात टोल, वडा, पालिका र जिल्ला तहमा हालसम्म भए÷गरेका विकास निर्माणको कामको अनुगमन गरी सत्यतथ्य विवरण सङ्कलन गरेर उपलब्ध गराउन तल्लो तहका समितिलाई निर्देशन दिइएको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बबि चाम्लिङले बताउनुभयो । “अनुगमनमा पाइएका विवरण माघ–१५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउन नगर वा गाउँपालिका कार्यसमितिलाई भनिएको छ”, उहाँले भन्नुभयो, “योजनाको पारदर्शीता बारे बुझ्ने र कुन टोलमा कस्तो योजनाको आवश्यकता छ भन्नेसमेत पहिचान हुन्छ ।”
नेकपा (एकीकृत समाजवादी)ले योजना अनुगमनका क्रममा बजेटको अङ्क, उपभोक्ता समितिका पदाधिकारी तथा ठेकेदार कम्पनीको नाम, काम सम्पन्न भएको मात्रा, लाभान्वित घरधुरी सङ्ख्या, योजना दाता वा सम्बन्धित निकायको नाम लगायतका विवरण सङ्कलन गर्ने भएको छ । टोल समितिको भेलाबाट प्रत्येक टोल वा बस्तीमा आवश्यकीय तत्कालीन र दीर्घकालीन योजनाहरु छनोट गरी वडा समितिमा पेश गर्ने, टोल समितिबाट पेश भएका योजनाहरु वडा समितिमार्फत गाउँ वा नगर समिति हुँदै जिल्ला समितिमा पेश गर्ने÷गराउने निर्णय गरिएको जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिनुभयो ।
टोल वा बस्तीहरुमा आकस्मिकरुपमा भैपरी आउने समस्या वा योजनाहरुको हकमा परिस्थितिजन्य रुपमा सिधै सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउन सकिने नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ । पार्टीले गर्ने अनुगमनले जिल्लामा सञ्चालित विकासे योजनाका काम प्रभावकारी हुने अपेक्षा गरिएको नेकपा (एकीकृत समाजवादी)का जिल्ला इन्चार्ज चाम्लिङले बताउनुभयो ।
जिल्लाका कतिपय स्थानीय तहमा आफ्ना कार्यकर्तालाई विकासे योजनाको काम दिने र उक्त योजनाबाट आफूलाई समेत कमिशन लिने गरेको गुनासो आएको छ । यतिसम्म कि आफ्ना कार्यकर्ता बाहेकका व्यक्तिहरुद्धारा गठित उपभोक्ता समितिमार्फत सञ्चालित विकासे योजनामा भुक्तानी दिनसमेत आनाकानी गर्ने गरेको स्रोतले जनाएको छ ।
यसैबीच, नेकपा (एकीकृत समाजवादी)ले जिल्लाका दश स्थानीय तहमध्ये बाँकी रहेको खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकामा तत्काल पालिकास्तरीय समितिसँगै कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । हालसम्म बराहपोखरी, जन्तेढुङ्गा, दिप्रुङ चुइचुम्मा, साकेला, ऐसेलुखर्क, केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वडा इन्चार्ज एवम् संयोजक तोकिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको ७९ वडामध्ये ३७ वडामा वडा पार्टी समिति गठन गरिएको जनाइएको छ । आगामी माघ–७ गतेभित्र वडादेखि जिल्लासम्म जनवर्गीय सङ्गठनहरुको गठन तथा पुनः गठन गर्ने तयारी गरिएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष राईले जानकारी दिनुभयो ।