संसदप्रति नेकपा एमाले नकारात्मक छैन : प्रमुख सचेतक भट्टराई

Halesi Khabar
0 Shares

खोटाङ, २२ पुस । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा एमाले संसदप्रति नकारात्मक नरहेको बताउनुभएको छ । संविधान बनाउन एमालेको ठूलो भूमिका रहेको स्मरण गराउनुहुँदै प्रमुख सचेतक भट्टराईले संविधानले व्यवस्या गरेको संसदप्रति एमाले नकारात्मक नरहेको दाबी गर्नुभयो ।

संविधानमा जनताका सबै हकअधिकार सुनिश्चित गरिएको जानकारी गराउनुहुँदै एमाले पोलिटब्यूरो सदस्यसमेत रहनुभएका प्रमुख सचेतक भट्टराईले ताजा जनादेशसहितको संसद ल्याउन आफूहरुले संसद अवरुद्ध गरेको बताउनुभयो । “संसदप्रति नेकपा एमाले नकारात्मक होइन”, उहाँले भन्नुभयो, “२०७४ सालको जनादेशलाई बोक्न नसकेर केही नेताहरुले आफ्नो पदका लागि संसद बन्धक बनाउन खोजेकाले त्यो बेलाको संसद विघटन गरेर छ महिनाभित्र ताजा जनादेशसहितको संसद ल्याउन खोजेका हौँ ।”

प्रेस चौतारी नेपाल खोटाङले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख सचेतक भट्टराईले आफ्नो पार्टीले कारवाही गरेर निष्कासन गरेको व्यक्तिको नामावली सभामुखले टाँस नगरेसम्म संसद चल्न नदिने बताउनुभयो । “सभामुख एउटा पार्टीको कार्यकर्ताको भूमिकामा हुनुहुन्छ”, उहाँले भन्नुभयो, “यदि सभामुखले उक्त व्यक्तिहरुलाई नहटाए राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्छ ।”

चुनावी प्रसङ्गमा बोल्नुहुँदै प्रमुख सचेतक भट्टराईले नेकपा एमाले सबै तहको चुनाव लड्न तयार रहेको जानकारी दिनुभयो । “गठबन्धनका दलहरु चुनावदेखि डराइरहेका छन्”, उहाँले भन्नुभयो, “एमाले गत वर्षको पुस–५ गतेदेखि नै चुनावको तयारीमा लागेको हो । अहिले सबै खालका, सबै तहका चुनाव लड्न तयार छ ।”

प्रेस चौतारी खोटाङले एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित खोटाङका नेताहरुलाई सम्मान गरेको छ । पोलिटब्यूरो सदस्यमा विशाल भट्टराई, केन्द्रीय सदस्यमा खगेन्द्र राई, उषाकला राई र रमेश पौडेल तथा अनुशासन आयोगको सचिवालय सदस्यमा कर्ण घले निर्वाचित हुनुभएको थियो ।

नवनिर्वाचित खोटाङका नेताहरुलाई शुभकामना दिँदै सम्मान गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हरिवोल आचार्यले बताउनुभयो । प्रेस चौतारीले आयोजना गरेको कार्यक्रमको अध्यक्षता एमाले खोटाङको प्रचार विभाग प्रमुख दीलचक्र राईले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया