खोटाङ, २३ पुस । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशन अन्तरगत बेलुका सात बजेबाट बन्दसत्र शुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा जारी बन्दसत्रमा अहिले राजनीतिक, साँगठानिक, आर्थिक र विकास तथा समृद्धि प्रतिवेदन प्रस्तुत गर्ने काम भइरहेको जनाइएको छ ।
राजनीतिक प्रतिवेदन निवर्तमान अध्यक्ष रामप्रसाद दंगाल, साँगठानिक प्रतिवेदन सचिव कुमार आचार्य, आर्थिक प्रतिवेदन सचिवालय सदस्य उपिनकुमार राई र विकास तथा समृद्धि प्रतिवेदन दीपनारायण रिजालले प्रस्तुत गर्नुहुनेछ । प्रस्तुत प्रतिवेदन बन्दसत्रले पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु हुने एमालेले जनाएको छ ।
एमाले पोलिटब्यूरो सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले उद्घाटन गर्नुभएको जिल्ला अधिवेशनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । एमालेको विधान अनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित ७५ सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने अधिवेशन आयोजक समितिको प्रचार विभाग संयोजक दीलचक्र राईले जानकारी दिनुभयो ।
बन्दसत्रका लागि पोलिटब्यूरो सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा आठ सदस्यीय अध्यक्ष मण्डल र नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्कीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । एमाले खोटाङको जिल्ला अध्यक्षमा निवर्तमान अध्यक्ष दंगाल पुनः दोहोरिने समाचार स्रोतलले जनाएको छ ।
उद्घाटनसत्रमा केन्द्रीय सदस्यहरु उषाकला राई, खगेन्द्र राई, केन्द्रीय अनुशासन आयोगका सदस्य कर्ण घले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । दश स्थानीय तहका एक हजार १०० प्रतिनिधि सहभागी उद्घाटनसत्रमा जनसाँस्कृतिक महासङ्घ तथा साईनो कला केन्द्र खोटाङका कलाकारहरुले साँगीतिक प्रस्तुति दिएका थिए ।