खोटाङ, २४ पुस । नेकपा एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दंगाल अध्यक्षमा चयन हुनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले दंगाललाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो ।
११९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा कुमार आचार्य तथा उपसचिवमा दीपनारायण रिजाल र सुरेन्द्रकुमार राई चयन हुनुभएको छ । श्याम पोखरेलको अध्यक्ष नौँ सदस्यीय लेखा आयोग समितिसमेत चयन गरिएको नवनिर्वाचित सचिव आचार्यले जानकारी दिनुभयो ।
दुई दिनसम्म चलेको अधिवेशनले ७७ सदस्यीय जिल्ला सल्लाहकार परिषदसमेत गठन गरेको एमाले खोटाङले जनाएको छ । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एमालेका पोलिटब्यूरो सदस्य एवम् एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले शनिबार साँझ नै पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।
दश स्थानीय तहका एक हजार १०० प्रतिनिधि सहभागी एमाले खोटाङको जिल्ला अधिवेशनमा राजनीतिक, साँगठानिक र आर्थिक प्रतिवेदन शुक्रबार नै पारित भएको थियो । ‘सत्तालिप्साले जन्माएको गठबन्धनविरुद्ध एक होऔँ, विकास, समृद्धि र अग्रगतिका लागि सबै एमाले एक बनौँ’ भन्ने नारासहित शुक्रबार उद्घाटन भएको अधिवेशन सर्वसहमतिको प्रयासमा ढिलोगरी सम्पन्न भएको हो ।
अध्यक्षमा सर्वसहमत चयन हुनुभएका दंगालले वि.सं. २०४६ सालमा उच्च शिक्षा अध्ययनको क्रममा आर्दश बहुमुखी क्याम्पस विराटनगरबाट राजनीति शुरु गर्नुभएको जनाइएको छ । तत्कालीन बतासे गाविस तथा हालको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा वि.सं. २०२७ चैत–१४ गते जन्मनुभएको हो ।
वि.सं. २०४६ सालदेखि अनेरास्ववियुको जिल्ला कार्यसमिति सदस्य हुनुभएका दंगाल पार्टी अर्धभूमिगत हुँदा नेकपा (माले)को दिक्तेल समिति सचिव तथा त्यसपछि अखिलको जिल्ला कार्यसमितिमा काम गर्नुभएको थियो । पार्टीको खोटाङ–विराटनगर सम्पर्क मञ्चको अध्यक्षसमेत हुनुभएका अध्यक्ष दंगालले १० नम्बर इलाकाको सचिव तथा क्षेत्रीय समन्वय समितिको सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
वि.सं. २०५४ सालयता पार्टीको जिल्ला कार्यसमितिमा लगातार काम गर्नुभएका दंगाल एमाले विभाजन हुँदा एमालेमै रहनुभएको थियो । एमाले खोटाङको गत २०७२ वैशाखमा सम्पन्न छैटौँ अधिवेशनबाट उपाध्यक्षमा सर्वसहमत चयन हुनुभएका दंगाल तत्कालीन अध्यक्ष बबि चाम्लिङ नेकपा (एकीकृत समाजवादी)मा लाग्नुभएपछि अध्यक्षमा मनोनित हुनुभएको थियो ।