खोटाङ, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले १९ बुँदे रणनीतिक योजना बनाएको छ । ‘सत्तालिप्साले जन्माएको गठबन्धनविरुद्ध एक होऔँ, विकास, समृद्धि र अग्रगतिको लागि सबै एमाले बनौँ’ भन्ने नाराका साथ शनिबार सम्पन्न एमाले खोटाङको सातौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमितिको पहिलो पूर्ण बैठकले १९ बुँदे रणनीतिक योजना बनाएको हो ।
नवनिर्वाचित एमाले जिल्ला कार्यसमितिको पहिलो पूर्ण बैठकले पारित गरेको रणनीतिक योजना आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । एमाले खोटाङले दिक्तेलस्थित शुभदिन होटलमा पत्रकार सम्मलेन गरेर बैठकले पारित गरेको रणनीतिक योजना सार्वजनिक गरेको हो ।
टोलटोलमा पार्टी समिति, घर–घरमा पार्टी सदस्यता वितरण गर्ने, सबै स्थानीय तहमा आफ्नै भवनमा पार्टी कार्यालय स्थापना गर्ने, कार्यकर्ता संरक्षण कोष स्थापना गर्ने, व्यवस्थित सङ्गठन तथा प्रशिक्षित कार्यकर्ता उत्पादन गर्ने लगायतका रणनीतिक योजना बनाएको छ । यस्तै, जिल्ला पार्टी कार्यालय प्रविधिमैत्री बनाउने, पार्टी प्रवेश तथा घर फर्क अभियान सञ्चालन गर्ने, कुरीति, कुसँस्कार र अन्धविश्वासविरुद्ध पार्टी परिचालित हुने, युवालाई काम र जेष्ठ नागरिकलाई सम्मान गर्ने, सम्पूर्ण सामुदायिक क्षेत्रमा एमालेले नेतृत्व गर्ने, बाम लोकत्रान्त्रिक एवम् प्रगतिशील शक्तिहरुलाई एकतावद्ध बनाउँदै बिपक्षी शक्तिहरुसँग प्रतिस्पर्धा गर्ने लगायतका योजना बनाएको छ ।
यसैगरी, जिल्ला भ्रष्टाचार र कालोबजारीविरुद्ध अभियान सञ्चालन गर्ने, विकास र समृद्धिको नेतृत्व पार्टीले गर्ने, जनवर्गीय सङ्गठनलाई व्यवस्थित गर्ने, विभिन्न दिवसहरु मनाउने, जनताको सुःख र दुःखमा साथ दिने, कम्युनिष्ट आँचरण, श्रमको सम्मान भन्ने नीतिलाई कार्यान्वयन गर्ने, युवामैत्री पार्टी निर्माणमा जोड दिने र सबै तहको चुनाव जित्ने समावेशी पार्टी बनाउने लगायतका योजना बनाएको छ । जिल्ला पार्टीले बनाएको रणनीतिक योजना टोल समितिसम्म कार्यान्वयनका लागि पु¥याइने जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।
एमालेका केन्द्रीय सदस्य एवम् १ नं. प्रदेशका पूर्व सामाजिक विकासमन्त्री उषाकला राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा नवनिर्वाचित पदाधिकारी तथा विभिन्न आयोगका प्रमुख, जिल्लास्थित जनवर्गीय सङ्गठनका प्रमुख लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मलेनमा उठेका प्रश्नको जवाफ एमाले खोटाङका सह–इन्चार्जसमेत रहनुभएका केन्द्रीय सदस्य राईले सम्बोधन गर्नुभएको थियो ।