कोरोना सङ्क्रमण बढेपछि जिल्ला प्रशासन खोटाङद्धारा स्वास्थ्य सावधानी आदेश जारी

Halesi Khabar
0 Shares

खोटाङ, ३० पुस । कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले आज (शुक्रबार)देखि लागू हुनेगरी सात बुँदे स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिस एवम् गृह–मन्त्रालयको निर्णय, सङ्क्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले स्वास्थ्य सुरक्षा सम्बन्धी सात बुँदे आदेश जारी गर्नुभएको हो ।

प्रशासनले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक लगायतका गतिविधिहरु सञ्चालन गर्दा तथा घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, समय–समयमा सावुन पानीले हात धुन वा सेनीटाइजरको प्रयोग गर्न लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न÷गराउन आग्रह गरेको छ । यस्तै, २५ जनाभन्दा बढी मानिसको उपस्थितिमा हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सव एवम् सामाजिक लगायतका कार्यहरु नगर्न÷नगराउन आदेश जारी गरिएको छ ।

यस्तै, धेरै मानिस उपस्थित हुने गरी राजनीतिक, प्रशासनिक, सामाजिक एवम् भिडभाड हुने प्रकृतिका कार्यक्रम नगर्न÷नगराउन, अत्यावश्यक र नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन आदेशमा भनिएको छ । आगामी माघ–७ गतेदेखि कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क लगायतका सार्वजनिक निकाय तथा स्थलमा प्रवेशका क्रममा अनिवार्य खोप कार्ड देखाउनुपर्ने आदेश जारी गरिएको छ ।

साथमा खोप कार्ड नभएको अवस्थामा मोबाइलमा चिखेको खोप कार्डको तस्वीर देखाएर पनि सार्वजनिक स्थानमा प्रवेशको अनुमती दिइने प्रशासनले जनाएको छ । यस्तै, सम्बन्धित स्थानीय तहले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा पुस– २६ गते जारी गरिएको विज्ञप्तिअनुसार कार्य गराउन, सेवाग्राहीको बढी चाप हुने कार्यालयमा भीडभाड नहुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्ने भनिएको छ ।

सार्वजनिक सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुले अनिवार्य मास्क लगाउन, मास्क नलगाउने यात्रुलाई सवारी साधन प्रवेश गर्न नदिन, सवारी साधनको ढोकामा सेनीटाइजरको व्यवस्था गर्न, चालक र सह–चालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनलाई दैनिक सेनीटाइज गर्न प्रशासनको आदेश गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समयमा सक्रिय सङ्क्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया