कर्मचारीलाई कोभिड भएपछि जन्तेढुङ्गा गाउँपालिकाको सेवा बन्द

Halesi Khabar
0 Shares

खोटाङ, १ माघ । जन्तेढुङ्गा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको छ । गाउँपालिका अन्तरगतका स्वास्थ्य सेवा बाहेकका सेवा शुक्रबारदेखि भोलि माघ–२ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिका प्रमुख शंखरबहादुर राईले बताउनुभयो ।

हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टीजेन परीक्षण गर्ने काम भइरहेको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ । माघ–३ गतेदेखि कर्मचारीलाई कार्यालयमा आउँदा कोभिड–१९ विरुद्ध लगाएको खोप कार्ड तथा एन्टीजेन परीक्षण गरेको रिपोर्ट अनिवार्य गरिएको छ ।

यस्तै, गाउँपालिका अन्तरगतका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि साथमा खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने गाउँपालिकाले जनाएको छ । पछिल्लो समय जिल्लामा पुनः कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लाबासी त्रसित छन् ।

यता, जिल्ला प्रशासन कार्यालय खोटाङले पनि सात बुँदे स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिस एवम् गृह(मन्त्रालयको निर्णय, सङ्क्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले शुक्रबारदेखि लागू हुनेगरी स्वास्थ्य सुरक्षा सम्बन्धी सात बुँदे आदेश जारी गर्नुभएको हो ।

प्रशासनले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी राजनीतिक, आर्थिक, सामाजिक, व्यवसायिक लगायतका गतिविधिहरु सञ्चालन गर्दा तथा घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, समय(समयमा सावुन पानीले हात धुन वा सेनीटाइजरको प्रयोग गर्न लगायतका स्वास्थ्य सम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न÷गराउन आग्रह गरेको छ । यस्तै, २५ जनाभन्दा बढी मानिसको उपस्थितिमा हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सव एवम् सामाजिक लगायतका कार्यहरु नगर्न÷नगराउन आदेश जारी गरिएको छ ।

यस्तै, धेरै मानिस उपस्थित हुने गरी राजनीतिक, प्रशासनिक, सामाजिक एवम् भिडभाड हुने प्रकृतिका कार्यक्रम नगर्न÷नगराउन, अत्यावश्यक र नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन आदेशमा भनिएको छ । आगामी माघ–७ गतेदेखि कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क लगायतका सार्वजनिक निकाय तथा स्थलमा प्रवेशका क्रममा अनिवार्य खोप कार्ड देखाउनुपर्ने आदेश जारी गरिएको छ ।

 

तपाईको प्रतिक्रिया