धर्मशाला निरीक्षणपछि मन्त्री आलेले भन्नुभयो, “सेभेन स्टार जस्तो रहेछ, म ‘सक्ड’ भएँ !”

Halesi Khabar
0 Shares

काठमाडौँ, २ माघ । सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बतास समूहले सञ्चालन गर्दै आएको धर्मशाला हेरेर आफू ‘सक्ड’ भएको बताउनुभयो । पशुपति क्षेत्रमा सञ्चालन गरिएको धर्मशाला आज निरीक्षण गर्नुहुँदै मन्त्री आलेले धर्मशाला सेभेन स्टार होटल जस्तो भएको बताउनुभयो ।

मन्त्री आलेले यसबारे छानविन समितिले भोलि प्रतिवेदन बुझाउने र त्यसपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताउनुभयो । उहाँले भन्नुभयो, “छानविन प्रतिवेदन आइसकेपछि दूधको दूध, पानीको पानी हुन्छ ।”

पशुपतिनाथ गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर तिलगङ्गामा धर्मशाला बनाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिस्थित धर्मशाला संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

यसमा भारत सरकारको रु २५ करोड लगानी रहेको बताउँदै मन्त्री ओलेले भन्नुभयो, “तीर्थयात्रीहरु सस्तो सुलभ मूल्यमा बस्न पाउन् भन्ने उद्देश्यले बनाइएको धर्मशाला धर्मशालाको रुपमा नभएर शानदार आलिशान, छ । सेभेन स्टारको हाराहारीमा मैले पाएँ !”

‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना हुँदै आएको छ ।

त्यहाँ बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ । कतिपय संरचनाहरु बिना अनुमति बनाइएको पनि मन्त्री आलेले बताउनुभयो ।

मन्त्री आलेले छानविनको क्रममा दोषी देखिएका सबैलाई कारबाही गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । छानविन समितिका संयोजक नारायण सुवेदीले भोलि अपराह्न चार बजे पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रतिवेदन सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया