खोटाङ, ३ माघ । चौध वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा रावाबेँसी गाउँपालिका–२ खार्पाका शिक्षक ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका छन् । भाषा आधारभुत विद्यालय खार्पामा शिक्षण पेशा गर्दै आएका शिक्षक पोखरेललाई छिमेकी जिल्ला उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।
छोरीलाई बलात्कार गरेको भन्दै पीडित बालिकाका बुबाले गत बिहीबार कार्यालयमा उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो । बलात्कृत बालिकाको स्वास्थ्य परीक्षणका गर्दा उनी २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् ।
शिक्षक पोखरेलमाथि गत भदौ–९ गते यता पटक–पटक बालिकालाई बलात्कार गरेको अभियोग लागेको छ । कक्षा–९ मा अध्ययनरत बालिकालाई पटक–पटक बलात्कार गरेर गर्भवती बनाएपछि शिक्षक पोखरेल फरार भएको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिइएको आफन्तले बताएका छन् ।
उदयपुरमा पक्राउ परेका शिक्षक पोखरेललाई जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो । बलात्कार आरोपमा पक्राउ परेका शिक्षक पोखरेललाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।