खोटाङ,४ माघ । प्रहरीले आत्महत्या रोकथाममा सचेतना पुर्याउने उद्देश्यले लघु चलचित्र निर्माण गरेको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले समाजमा घटिरहेका आत्महत्याका घटनालाई न्युनिकरण र निरुत्साहन गराउनका लागि ‘आत्महत्या नगरौ, बाँचौ र बचाऔं’ नामक चलचित्र निर्माण गरेको हो ।
चलचित्र निर्माणको कार्य सम्पन्न पारेर सोमबार जिल्ला समन्वय समितिको सभाहलमा जिसस प्रमुख बबि चाम्लिङले बटम थिचेर चलचित्रको सार्वजनिक गर्नुभएको जिल्ला प्रहरी कार्यालय खोटाङ प्रमुख प्रहरी नायव उपरीक्षक (डियसपी) उमेश लम्सालले बताउनुभयो ।
जेपी फिरन्ते आचार्यको लेखन तथा सञ्जिव राईको निर्देशनमा बनेको ४३ मिनेट लामो लघु चलचित्रमा गरिवी, बैदेशिक रोजगार, किशोरावस्थामा हुने प्रेम,बिछोड, अध्ययन असफलता, मद्यपान/धुम्रपानजस्ता कार्यबाट परिवारमा बिखण्डन हुंदा आत्महत्या गर्नेसम्मको बाटोमा मानिस पुग्ने गरेको चलचित्रमा देखाईएको छ ।
स्थानीय तहहरुसँग सहकार्य गरी ४ लाख बजेटमा निर्माण गरिएको लघु चलचित्रमा जिल्लामा घटेका प्रतिनिधिमूलक घट्नालाई चरित्रमा ढालिएको प्रमुख प्रहरी नायव उपरीक्षक लम्सालले जानकारीदनुभयो ।कोरोनाका कारण स्वास्थ्य मापदण्डमा रहेर आत्महत्या बढी हुने गाउँ, वडाहरुमा केन्द्रीत रहेर सचेतनामूलक कार्यक्रमसँगै लघु चलचित्र प्रदर्शन गर्छौ । प्रमुख प्रहरी नायव उपरीक्षक लम्सालले भन्नुभयो, “सकेसम्म जिल्लाका प्रत्येक विद्यालय र क्याम्पसमा पनि चलचित्र प्रदर्शन गरिने छ ,भने ‘अहिले स्वास्थ्य प्रोटोकलभित्र रहेर सकेसम्म वडास्तरसम्म चलचित्र प्रदर्शन गर्ने लक्ष्य रहेको छ ।”
लघु चलचित्र प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र जिसस प्रमुख राईले गाउँ-गाउँमा चलचित्र प्रदर्शन गर्नुपर्ने बताउनुभएको छ ।