काठमाडौं, ५ माघ । तेस्रो लहरको कोरोना संक्रमण बढेसँगै नेकपा (एमाले) ले सबै कार्यक्रम बन्द गरेको छ । कोरोनाको महामारी पुनः बढेको सन्दर्भमाा एमालेले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले यस्तो जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड-१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय सञ्चालन गर्न आग्रह गरिएको हो ।
पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाई आयोजना गर्न भनेको छ । साथै, नेकपा एमालेले स्थानीय नेता-कार्यकर्ता र जनप्रतिनिधिले महामारी विरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन आग्रह गरेको छ ।
एमालेले यही माघभित्र सबै प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना अघि सारेकामा ती प्रभावित भएका छन् ।