खोटाङ, ७ माघ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले कोभिड-१९ को महामारीका समयमा स्वास्थ्य सावधानी अपनाएर कार्यक्षेत्रमा खट्न पत्रकारलाई आग्रह गरेको छ । दिनानुदिन कोरोना संक्रमण दर वृद्धि हुँदैगएको अवस्थामा महासंघले बिहिबार पत्रकारलाई संक्रमणबाट जोगिएर समाचार सङ्कलन र सम्प्रेषणका लागि विज्ञाप्तीमार्फत आग्रह गरेको हो ।
जिल्लामा कार्यरत पत्रकार/सञ्चारकर्मीलाई सकेसम्म घर वा कार्यालयमै रहेर काम गर्न, समाचार सङ्कलन गर्नका लागि बाहिर निस्कनुपर्ने अवस्था भएमा स्वास्थ्य सुरक्षा सम्बन्धी उच्च सतर्कता अपनाएर जिम्मेवारी वहन गर्न समेत महासङ्घले जारी गरेको विज्ञाप्तीमा भनिएको छ ।
कोरोना भाइरको तेस्रो लहरबाट नेपालमा हालसम्म विभिन्न सञ्चार गृहमा कार्यरत २३० जना सञ्चारकर्मी संक्रमित भइसकेका छन् । नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा नीति र मापदण्डलाई पूणर् रुपमा पालना गर्ने र गराउनेक्रममा सञ्चारमाध्यम तथा सञ्चारकर्मीको भूमिका प्रभावकारी बनाउनका लागि उचित वातावरण बनाउन जिल्लास्थित जनप्रतिनिधि, प्रशासन, प्रहरी, राजनीतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज, सर्वसाधारण लगायत समक्ष अपिल गरिएको महासङ्घले जनाएको छ ।
महासंघले ‘आफू बच्न र अरुलाई पनि बचाउन’ भूमीका निर्वाह गर्न आग्रह गरेको छ ।