खोटाङ, ७ माघ । खोटाङका तीनवटा जलविद्युत आयोजनाबाट १०.६ मेगावाट विद्युत केन्द्रीय प्रशारणलाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाईड्रोपावरगरी १०.६ मेगावाट जलविद्युत ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिकाको वडा नं. ६ दिप्सुङ र वडा नं. ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिएको छ । जिल्लाका फरक–फरक तीनवटा खोलाबाट उत्पादन गरिएका जलविद्युत नेपाल विद्युत प्राधिकरणको जलजले–बुइपा ३३ केभी प्रशारणलाइनमार्फत केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।
साप्सुखोला जलविद्युत आयोजनाको काम सम्पन्न भएसँगै गत मङ्सिर–१४ गतेदेखि परीक्षण उत्पादन शुरु गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनी लिमिटेडका सञ्चालक ध्रुवबहादुर श्रेष्ठले बताउनुभयो । साप्सुखोला जलविद्युत आयोजना हिमालयन बैङ्क र राष्ट्रिय बाणिज्य बैङ्कले ६५ प्रतिशत ऋण तथा सञ्चालकको ३५ प्रतिशत स्वपूजी लगानीगरी करीब रु एक अर्ब ५० करोड खर्चमा सञ्चालनमा ल्याइएको हो ।
राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत २.५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेशनमार्फत केन्द्रीय प्रशारणलाईनमा जोडिएको छ । प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले विद्युत तथा बाटो मर्मतको माग गरेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका मनोज राईले बताउनुभयो ।
उता, रावाखोलाको पानीलाई सुङ्देलको बिहिबारेमा निर्माण गरिएको हेडड्रेसबाट दुई हजार १०० मिटर लामो पाइपलाइनमार्फत सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत उत्पादन गरिएको छ । जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारणलाइनमा जोडिएसँगै नेपाल विद्युत प्राधिकरण खोटाङले जिम्मा लिएको आयोजनाका प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रा.लि.का सञ्चालक मुक्ति तिम्सिनाले बताउनुभयो ।
राष्ट्रिय बाणिज्य बैङ्कको ७० प्रतिशत र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रा.लि.को ३० प्रतिशतगरी करीब रु ६० करोडको लागतमा माथिल्लो रावाखोला जलविद्युतको काम सम्पन्न भएको जनाइएको छ । वि.सं. २०६८ सालदेखि उत्पादनको पहल थालिए पनि वि.सं. २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत आयोजनाको लागि कन्ट्रक्सन निर्माणको काम शुरु गरिएको थियो ।
यता, समुदायको ३० प्रतिशत तथा सानिमा बैङ्कको ६० र बैङ्क अफ काठमाडौँको ४० प्रतिशतगरी करीब रु २२ करोडको लागतमा उत्पादित मेवाखोला हाईड्रोपावर वि.सं. २०७२ मङ्सिरबाट सञ्चालनमा ल्याएको साप्सु–कालिका हाईड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो । मेवाखोलाबाट उत्पादित विद्युत जिल्लाका अन्य जलविद्युत आयोजनाभन्दा पहिले केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा अहिले तीन मेगावाट विद्युत खपत भइरहेको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । “जिल्लामा अहिले २० हजार ७८९ विद्युत उपभोक्ता रहेका छन्”, उहाँले भन्नुभयो, “जिल्लामा उत्पादित विद्युतमध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन ।”
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वि.सं. २०६८ जनगणना अनुसार ४२ हजार ६४७ घर बसोबास गर्छन् । उक्त तथ्याङ्कको आधार मानेर हेर्ने हो भने, खोटाङमा आधाभन्दा बढी घरधुरीमा केन्द्रीय प्रशारणलाइनको विद्युत पुगेको छैन ।
यद्यपि, जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रशारणलाइनको विद्युत विस्तार भएको पाइएको छ । केन्द्रीय प्रशारणलाइनका विद्युत नपुगेका ठाउँहरुमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत खपत भइरहेको छ ।