खोटाङ, ७ माघ । कोभिड–१९ को सङ्क्रमण पुनः बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गरेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिएमसि)ले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरण गर्न भन्दै जिल्लाका दशवटै स्थानीय तहका विभिन्न स्थानमा लाग्ने साप्ताहिक तथा पाक्षिक हाटबजार बन्द गर्ने निर्णय गरेको हो ।
कोरोना सङ्क्रमणको दोस्रो लहरपछि लाग्न थालेका हाटबजारमा भीडभाड बढ्दा कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले पुःन अर्को निर्णय नभएसम्मका लागि हाटबजार बन्द गराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । जिल्लाको दिक्तेल, बाक्सिला, ऐसेलुखर्क, अर्खौले, बुइपा, मात्तिम, पञ्चमी, खोटाङबजार, चिसापानी लगायतका ठाउँहरुमा साप्ताहिकरुपमा हाटबजार लाग्ने गरेको छ ।
कोरोनाका कारण हाटबजार बन्द हुँदा कृषि उपज लगायतका स्थानीय उत्पादन बिक्री गरेर जीविका चलाउने स्थानीय बासिन्दा सबैभन्दा बढी मारमा पर्ने गरेका छन् । कोरोनाको सङ्क्रमण बृद्धि भइरहँदा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्नमा भने बेवास्ता भइरहेको पाइएको छ ।
कोरोनाको सङ्क्रमबाट बच्नका लागि विशेष सावधानी अपनाउनुपर्ने बेला जिल्लाका अधिकांश क्षेत्रमा हेलचक्र्याइँ बढ्दो रहेको देखिएको छ । न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न भनिए पनि सोको पालना हुन सकेको छैन ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमै मास्कको प्रयोग बेपरवाह भइरहेको छ । दिनानुदिन सङ्क्रमण बढ्दै गएपनि त्यसका विरुद्धको प्रतिकार्य तथा पूर्वतयारी योजना बनाउनमा स्थानीय सरकार तातेको छैन ।
पछिल्लो समय जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले दिएको तथ्याङ्कमा उल्लेख छ । हालसम्म १५ जनाले ज्या गुमाइसकेको जिल्लामा अहिलेसम्म बन्दाबन्दी (लकडाउन) गरिएको छैन ।