खोटाङ, ११ माघ । खोटाङमा कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित हुनेको सङ्ख्या १४७ पुगेको छ । अघिल्लो दिनसम्म ११३ जना सङ्क्रमित रहेको जिल्लामा आज मङ्गलबार एकै दिन ३४ जना सङ्क्रमित थपिएका हुन् ।
जिल्लाका सबै सक्रिय सङ्क्रमित होमआइसोलेसनमा बसिरहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
खोप लगाएकामध्ये ६६ हजार ६१२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । जिल्लाका सर्वसाधारणले सहज रुपमा खोप पाएका छैनन् ।
कोभिड महामारीको शुरुवातदेखि हालसम्ममा जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या तीन हजार २०९ पुग्दा तीन हजार ४४ निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।
जिल्लामा जिल्ला अस्पतालसहित सातवटा अस्पतालमा २३४ बेडको होमआइसोलेसन उपलब्ध छ । यस्तै, एक थान भेण्टीलेटर, सातवटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गएपनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका दश स्थानीय तहमध्ये अधिकांशले कोरोना सङ्क्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन ।
सङ्क्रमण बढिरहेका बेला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ । तर, जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा समेत सावधानी अपनाइएको छैन ।