खोटाङ, १२ माघ । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङको संयोजकमा दीपक पाण्डे ‘आकाश’ चयन हुनुभएको छ । तत्कालीन जिल्ला संयोजक देवान किराँती ‘पृथ्वी’ १ नं. प्रदेश समिति उपाध्यक्षमा निर्वाचित हुनुभएपछि रिक्त रहेको उक्त पदमा आकाशलाई नियुक्त गरिएको हो ।
माओवादी केन्द्र १ नं. प्रदेश समितिको मङ्गलबार बसेको बैठकले आकाशलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको उपाध्यक्ष पृथ्वीले जानकारी दिनुभएको छ । तत्कालीन (नेकपा माओवादी केन्द्र) खोटाङको कोषाध्यक्ष, एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कार्यालय सदस्य, एमाले र माओवादी केन्द्र अलग भएपछि माओवादी केन्द्रको दिप्रुङ चुइचुम्मा गाउँपालिका इन्चार्ज तथा प्रदेश समिति सदस्यको भूमिकासमेत निर्वाह गर्नुभएका आकाशलाई जिल्ला संयोजक तोकिएको हो ।
यस्तै, माओवादी केन्द्र जिल्ला समन्वय समिति सचिवको जिम्मेवारी जीवन राई ‘सँगीन’ले पाउनुभएको छ । माओवादी केन्द्रले जिल्लाका दशवटै स्थानीय तहको इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारीसमेत तोकेको प्रदेश समिति उपाध्यक्ष पृथ्वीले जानकारी दिनुभयो ।
जिल्ला संयोजक आकाशलाई केपिलासगढी गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा होमकाजी आचार्य ‘विनोद’ तथा सह–इन्चार्जमा विकाश राईलाई जिम्मेवारी दिइएको छ भने, हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा हस्तबहादुर राई ‘आमोद’ चयन हुनुभएको छ ।
यसैगरी ऐसेलुखर्क गाउँपालिकाको इन्चार्जमा श्रीबहादुर राई, रावाबेँसी गाउँपालिकाको इन्चाजमा सीताराम अधिकारी ‘भूमि’, साकेला गाउँपालिकाको इन्चार्जमा अर्जुनकुमार खड्का ‘झङ्कार’, सह–इन्चार्जमा विर्सिका राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको इन्चार्ज अजम्बर राई, सह इन्चार्ज लक्ष्मीकुमार राई, खोटेहाङ गाउँपालिकाको इन्चार्जमा उदिम बान्तावा ‘मुक्ति’, सह–इन्चार्ज सुशिला बान्तवा र इन्द्र नारथुङे, जन्तेढुङ्गा गाउँपालिकाको इन्चार्जमा अरुणा राई ‘दीक्षा’ तथा सह–इन्चार्ज वीरबल राई र राजकुमार विष्ट तथा बराहापोखरी इन्चार्जमा निसाना राई चयन हुनुभएको छ ।
यसैबीच, खोटाङमा क्रियाशील चार प्रमुख राजनीतिक दलका प्रमुख एउटै गाउँपालिकाका परेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका प्रमुख एउटै गाउँपालिका दिप्रुङ चुइचुम्माका हुन् ।
एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे, नेपाली काँग्रेसका जिल्ला सभापति विष्णुकुमार राई वडा नं. ३ छोरम्बु, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष दीपक पाण्डे ‘आकाश’वडा नं. ५ स–छितापोखरी र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंकबहादुर थापा वडा नं. २ डाँडागाउँका हुनुहुन्छ । जिल्लाका प्रमुख चार राजनीतिक दलका अध्यक्ष तथा सभापति एउटै गाउँपालिकाका व्यक्ति भएपछि उक्त गाउँपालिकालाई निक्कै महत्वका साथ हेरिएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्लाका प्रमुख राजनीतिक दलहरु निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय हुन थालेका छन् । यसअघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा यस पटक गठबन्धन गरेर भएपनि काँग्रेसलाई हराउने योजनामा छन् ।