काठमान्डौ, १४ माघ । मानव सेवा आश्रम वीरगन्ज शाखाले एक जनालाई पारिवारिक पुनर्मिलन गराउन सफल भएको छ । बाराको कलैया उपमहानगरपालिका-१८ का जागेश्वर ठाकुरको करिब ८ महिनाअघि उद्धार गरिएको थियो भने बिहीबार पारिवारिक पुनर्मिलन गराइएको हो ।
विगत ४ वर्षदेखि साङ्लोले बाँधेर राखिएको अवस्थामा ठाकुर फेला परेका थिए । उनलाई उद्धार गरी आश्रममा ल्याएर औषधी-उपचार समेत गरी स्वस्थ पारिएको थियो । स्वास्थ्य भएपछि पारिवारिक पुनर्मिलन गराइएको मानवसेवा आश्रम वीरगन्जकी संयोजक सानु मानवसेवाले जानकारी दिनुभयो ।
सुरुवाती दिनहरूमा ठाकुरलाई सम्हाल्न गाह्रो भएको थियो । उहाँले भन्नुभयो, “तर पनि उपचार र औषधी सेवनपश्चात उनको अवस्था सामान्य बन्दै गएको छ ।” ठाकुर कुनैबेला चर्चित काठ मिस्त्री थिए । उनको कलाले सबैलाई अचम्म नै पार्ने गर्दथ्यो । पछिल्लो समय भने उनको मानसिक सन्तुलन बिग्रेपछि समाजमा सबैसँग अभद्र व्यवहार गर्ने, पारिवारका सदस्यलाई पिट्ने, ढोका बन्द गरेर बस्ने गर्दथे । यहाँ सम्मकि घरबाट भाग्ने पनि गरेको उनकी श्रीमती सुदामा देवीले बताउनुभयो ।
यी सबै कारणले आफ्नै श्रीमानलाई बाँधेर राख्नुपरेको उनले दुखेसो पोखिन् । तर अहिले आफ्नो श्रीमानलाई स्वस्थ भएको देख्न पाउँदा उनको आँखामा आँसु थामिएनन् । जुन काम आफूहरुले गर्न सकिएन, त्यो काम मानवसेवा आश्रमले गरेकोमा आश्रमका सम्पूणर् परिवारलाई उहाँले धन्यवाद समेत दिनुभयो ।
मानवसेवा आश्रम वीरगन्ज शाखाले यस्तैगरी धेरैको उद्धार गरेर पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । हाल उक्त आश्रमले ५० जनाभन्दा बढीलाई सेवा प्रदान गरिरहेको छ । यो जाडो मौसममा मात्रै २ महिला, १ बालिका र ४ जना पुरुष गरी ७ जनाको उद्धार गरेर आश्रममा ल्याइएको छ ।