साकेलाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय विद्युत

Halesi Khabar
0 Shares

खोटाङ, ४ फागुन । साकेला गाउँपालिकाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रशारण लाइनको विद्युत पुगेको छ । दुई हजार ३३५ घरधुरी उपभोक्ता रहेको साकेला गाउँपालिकामा नेपाल विद्युत प्राधिकरण तथा गाउँपालिकाको लगानीमा फलामे पोलसहितको केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गरिएको हो ।

विद्युत विस्तार गर्न बाँकी पाँच प्रतिशत उपभोक्ताको घरमा समेत यसै आर्थिक वर्षभित्र विस्तार गर्ने तयारी भइरहेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “गाउँपालिकाका सबै वडामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तारको काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो, “अबको केही महिनाभित्रै गाउँपालिकाभित्र बसोबास गर्ने सबै नागरिकको घरमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गरेर उज्यालो गाउँपालिका घोषणा गर्ने योजनामा छौँ ।”

जिल्लाकै सबैभन्दा सानो पाँचवटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएपछि घरेलु उद्योगहरुसमेत धमाधम खुल्न थालेका छन् । केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएपछि मानेभञ्ज्यामा गाउँपालिकाकै लगानीमा अल्लो प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ ।

लामो समयसम्म कुप्पी (मट्टीतेल प्रयोग गरेर बालिने बत्ती) तथा सोलार टुकीको भरमा उज्ज्यालो उपभोग गर्दै आएका स्थानीय बासिन्दा गाउँपालिकाको पहलमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएपछि हर्षित भएका छन् । केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएपछि हरेक गाउँमा उज्यालोको लागि बत्ती बाल्नुका साथै खाना पकाउन, टेलिभिजन हेर्न, कुटानीपिसानी मिल सञ्चालन गर्नका साथै साना घरेलु उद्योगहरु खोल्नेक्रम शुरु भएको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) साकेला गाउँपालिकास्तरीय समितिका सचिव नवीनकुमार राईले बताउनुभयो ।

साकेला गाउँपालिकामा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गर्न गाउँपालिकाको रु एक करोडभन्दा बढी लगानी भइसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले जानकारी दिनुभयो । बाँकी पाँच प्रतिशत उपभोक्ताका लागि विद्युत प्रधिकरणसँगको सहकार्यमा विद्युतीकरण गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य सबै स्थानीय तहमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार भएको पाइएको छ । केन्द्रीय प्रशारण लाइनका विद्युत नपुगेका ठाउँहरुमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत तथा सोलार बत्ती खपत भइरहेको छ ।

जिल्लाका तीनवटा जलविद्युत आयोजनाबाट उत्पादित १०.६ मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवाखोला हाईड्रोपावरगरी जिल्लामा उत्पादित १०.६ मेगावाट जलविद्युत ३३ केभी केन्द्रीय प्रशारण लाइनमा जोडिएको हो ।

दुई नगरपालिका र आठ गाउँपालिकागरी दश स्थानीय तह रहेको जिल्लामा अहिले बढीमा तीन मेगावाटमात्र विद्युत खपत भइरहेको नेपाल विद्युत प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताउनुभयो । “जिल्लामा अहिले २० हजार ७८९ विद्युत उपभोक्ता रहेका छन्”, उहाँले भन्नुभयो, “जिल्लामा उत्पादित विद्युतमध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । अबको केही वर्षभित्रै जिल्लाका हरेक स्थानीय उपभोक्ताको घरमा पु¥याउनेगरी विद्युत विस्तारको काम भइरहेको छ ।”

जिल्लाका अधिकांश स्थानीय बासिन्दा आफ्नै लगानीमा उत्पादित हाईड्रोपावरको विद्युत उपभोग गर्दै आएका छन् । जिल्लामा सञ्चालित दर्जनबढी हाईड्रोपावरलाई केन्द्रीय प्रशारण लाइनमा जोड्ने प्रयासमेत भइरहेको विद्युत प्राधिकरणले जनाएको छ ।

तत्कालीन जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति)ले पाँच वर्षभित्र खोटाङलाई उज्यालो जिल्ला बनाउने उद्देश्यले आवधिक योजना बनाएको थियो । स्वीस सरकारको सहयोगमा निर्माण गरिएको उक्त आवधिक योजना अन्तरगत जिल्लाका विभिन्न ठाउँमा हाईड्रोपावरहरु सञ्चालन गरिएको हो ।

 

 

 

तपाईको प्रतिक्रिया