खोटाङ, ११ फागुन । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा १५ शय्याको अस्पताल बनाउन घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ । प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीति अनुसार जन्तेढुङ्गा गाउँपालिकास्थित चिसापानीमा १५ शय्याको अस्पताल बनाउन घडेरी सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र नजिकै निर्माण गर्न लागिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा भवनको जग भत्किएपछि तीन कोठे भवन कामै नलाग्ने अवस्थामा पुगेको चिसापानीका कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले बताउनुभयो । “भर्ना भएका बिरामी राख्नका लागि बनाइएको सो भवनको टेवा पर्खाल र पेटी भत्किएपछि भवनमुनि भ्वाङ परेको छ”, उहाँले भन्नुभयो, “काम नै नदिनेगरी भवनमा क्षति पुगेपछि गाउँपालिकाले भुक्तानीसमेत रोकी दिएको छ ।”
प्राथमिक स्वास्थ्य केन्द्रको क्षतिग्रस्त भवनलाई हाल पुरानो सामान राख्न, कोभिड–१९ बाट सङ्क्रमित स्वास्थ्यकर्मी राख्ने क्वारेन्टिन लगायतका काममा उपयोग गरिँदै आइएको थियो । घडेरी सम्याउनेक्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवनको तीनमध्ये दुई कोठा भासिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
वि.सं. २०७७ मङ्सिर–१५ गते शिलान्यास गरिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा जग्गादाता प्रेमबहादुर बस्नेतको घरसमेत जोखिममा परेको छ । कुल रु १८ करोड छ लाख ८२ हजारको सिमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ । तर, सो निर्माण कम्पनीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रको जग कमजोर र अस्पताल निर्माण गर्न लागिएको ठाउँमा पानी पलाउनाले जग खन्नेक्रममा भासिएको नेकपा एमाले जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष याम राईले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेपछि अहिले घडेरी सम्याउने काम रोकिएको स्थानीय बासिन्दाले बताएका छन् ।
सेवा प्रवाहका दृष्टिले जन्तेढुङ्गामा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई एकैठाउँमा राख्न खोजिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताउनुभयो । “विकासे काम गर्दा सामान्य क्षति हुन्छ”, उहाँले भन्नुभयो, “क्षतिग्रस्त भवन पुनः निर्माणका लागि ठेकेदार कम्पनीसँग कुरा भइसकेको छ ।”
अस्पताल निर्माणका क्रममा क्षति पुगेका सम्पूर्ण संरचनाहरु सिद्धगढी निर्माण कम्पनीले बनाइदिने कम्पनीका इन्जिनियर यादव केसीले जानकारी दिनुभयो । निर्माणाधीन अस्पतालमा अहिले घडेरी सम्याउने, पर्खाल लगाउने, आवश्यक सामग्री ल्याउने लगायतका काम भइरहेको केठेदार कम्पनीले जनाएको छ ।
कतिपयले अस्पतालको घडेरीका लागि बनाइएको पर्खालको गुणस्तरमा समेत प्रश्न उठाउने गरेको नेपाली काँग्रेस जन्तेढुङ्गा गाउँपालिका सहभापति बाजिन्द्र बिष्ट बताउनुभयो । गुणस्तरमा प्रश्न उठ्न थालेपछि अस्पतालको भवन निर्माण सम्बन्धी स्टेटमेन्ट र आवश्यक कागजात माग गर्दै स्थानीय चिरन श्रेष्ठले गत माघ–२ गते गाउँपालिका समक्ष निवेदन दिनुभएको थियो ।
दश स्थानीय तह रहेको जिल्लामा गत वर्ष सात र यस वर्ष तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको छ । जिल्लाका चार स्थानीय तहमा १५÷१५ र बाँकीमा दश शय्याको अस्पताल निर्माणका लागि योजना स्वीकृत भएको हो ।
जिल्लाका कतिपय स्थानीय तहले अस्पताल निर्माणको कामलाई तीव्रता दिएका छन् भने, कतिपयले शिलान्यसमात्र गरेका छन् । सरकारको नीति अनुसार हरेक स्थानीय तहमा निर्माण गरिने अस्पताल अन्तरगत बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाका लागि भने, यस वर्षमात्रै योजना परेको हो ।