यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह

Halesi Khabar
0 Shares

खोटाङ, ११ फागुन । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा बुधबार दिक्तेलमा सडक जनमत सङ्ग्रह गरेको छ । एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउने उद्देश्यले अनेरास्ववियु (क्रान्तीकारी)ले दिक्तेल बजारस्थित त्रिवेणीचोकमा सडक जनमत सङ्ग्रह गरेको हो ।

सडकमै मत पेटिका राखेर गरिएको जनमत सङ्ग्रहमा कुल २०७ मत खस्दा १९२ मत एमसीसी पारित गर्नुहुन्न भन्ने पक्षमा र १४ मत एमसीसी पारित गर्नुपर्छ भन्ने पक्षमा मत खसेको छ । खसेका मतमध्ये एक मत बदर भएको अनेरास्ववियु (क्रान्तीकारी) नेता पारस बिराटले जानकारी दिनुभयो ।

एमसीसी यथास्थितिमा पास नगर्नका लागि दवाव सिर्जना गर्न पनि सडक जनमत सङ्ग्रह गरिएको नेता बिराटले बताउनुभयो । “स्वाधिन देशमाथि हमला भइरहेको छ । हामी त्यसलाई परास्त गर्न लडिरहेका छौँ । सत्ताको आगो ताप्नेलाई एमसीसी पास गर्नुहुन्न भनेर खबरदारी गरिरहेका छौँ, उनीहरुलाई सुनाउन जनमत सङ्ग्रह गरिएको हो”, उहाँल्े भन्नुभयो, “सत्तामा बस्नेले याद राखुन्, जनता एमसीसीको पक्षमा छैनन्, एमसीसीको पक्षमा हामी छैनौँ । कुर्सीको प्रलोभनमा बस्नेले एकचोटी सुनुन्, स्वतन्त्रता सम्झिउन्, सार्वभौमसत्ता सम्झिउन्, संविधान सम्झिउन्, लाखौं शहीदको बलीदानबाट आएको संविधान सम्झिउन् । एमसीसीले देशको सार्वभौमसत्तामा दुरगामी असर गर्नेवाला छ ।”

सडक जनमत सङ्ग्रहको परिणामलाई जिल्ला प्रशासन कार्यालयमार्फत सरकार समक्ष पठाइएको अनेरास्ववियु (क्रान्तीकारी) खोटाङले जनाएको छ । सडक जनमत सङ्ग्रहको मत सडकमै गणना गरिएको थियो ।

तपाईको प्रतिक्रिया