काठमाडौं,१६ फागुन । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा टिकिरहनका लागि आफैले राष्ट्रघाती करार गरेको अमेरिकी सहयोग एमसीसी अनुमोदन गर्नुपरेको प्रष्टिकरण दिनुभएको छ । एमसीसी अनुमोदनसँगै माओवादीभित्र बिद्रोह सुरु भएपछि प्रचण्डले आज पत्रकार सम्मेलन नै गरेर सत्ताका लागि एमसीसी पारित गर्नुपरेको बाध्यता सुनाउनु भएको हो ।
माओवादीले महाधिवेशनबाटै एमसीसी राष्ट्रघाती रहेको भन्दै पास नगर्ने निणर्य लिएको थियो । तर सत्ताका लागि जे गर्न पनि तयार हुनुपर्छ भन्ने प्रचण्डको मान्यताका कारण आइतवार प्रचण्डकै मतदानमा पारित भएको छ । सो घटनापछि माओवादी छाडने क्रम बढदै गएपछि प्रचण्डले आज पत्रकार सम्मेलन गर्नुभएको हो । पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र वर्तमान सरकार टिकिरहने निश्चित भएको बताउनु भयो ।
खुमलटारस्थित आफ्नै निजी निवासमा पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले आइतबार संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र सरकार आगामी निर्वाचनसम्म रहिरहने बताउनु भयो ।
‘अस्तिसम्म यो गठबन्धन रहला या नरहला र वर्तमान सरकार पनि रहला कि नरहला भन्ने थियो, हामीले सरकार जोगाउने र गठबन्धन टिकाउने निणर्य लियौं,’ प्रचण्डले भन्नुभयो, ‘संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेपछि गठबन्धन र सरकार टिकिरहने निश्चित भएको छ । यो ठूलो उपलब्धी हो ।’
एमसीसी सम्झौता अनुमोदनसँगै आगामी निर्वाचन पनि सुनिश्चित गरेको दाबी प्रचण्डले गर्नुभयो । यसअघि प्रचण्डले एमसीसी राष्ट्रघाती नै रहेकोले खारेज गर्नुपर्ने बताउनु भएको थियो । एमसीसी सम्झौतामा केही गम्भीर विषय रहेको र संशोधन गरेर अनुमोदन गर्नुपर्ने आवाज आफूले उठाउँदै आएको तर सरकार टिकाउन बाध्यतावस मतदान पक्षमा गरेको बताउनु भयो । साविक नेकपाका बेला आफूले संशोधन र परिमार्जन नगरी एमसीसी अनुमोदन गर्न हुँदैन भनेपछि नै फरक ढंगबाट बहस सृजना भएको प्रचण्डको भनाइ छ ।
केही विवादित विषयलाई स्पष्ट पारेर व्याख्यात्मक घोषणा जारी गरेर एमसीसी अनुमोदन गरिएको बताउनु भएका प्रचण्डले तत्कालीन विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाको असहमतिका कारण एमसीसी अनुमोदनमा ढिलाइ भएको पनि बताउनु भयो ।