कञ्चनपुर, १६ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको ८ नम्बर वडाका वडाध्यक्ष बहादुरसिंह महराले आफ्नो पार्टी नेकपा माओवादी केन्द्रले मुलुकमाथि गद्धारी गरेको भन्दै पार्टी सदस्यता त्यागेर पदबाटै राजीनामा दिनुभएको छ ।
महाराले एमसीसी सम्झौता अनुमोदन गर्न सघाएको पार्टी नेकपा माओवादी केन्द्रको सदस्यता त्याग गरी जनतासित माफी मागेर वडाध्यक्ष पदबाट समेत राजीनामा दिने घोषणा गर्नुभएको हो ।
‘आजबाट नेकपा माओवादी केन्द्रले पनि राष्ट्रघाती एमसीसी सम्झौता पारितमा विभिन्न बहानामा सहयोग गरेकोले आजैबाट माओवादी केन्द्रको सदस्यता त्याग गरी राष्ट्रिय स्वाधीनता रक्षाको लडाइँमा आफ्नो अमूल्य जीवन समर्पित गर्ने संकल्प गर्दछु । साथै देश बेच्नेहरूको वडाध्यक्ष पदबाट जनतासित माफी मागेर राजीनामा गर्ने घोषणा गर्दछु,’ महराले भन्नुभएको छ ।
एमसीसी राष्ट्रघाती भएकोले पारित गर्न नहुने भन्दै तीन बर्षदेखि अडकाएर राख्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जस्ताको तस्तै पारित गरेपछि बिद्रोह गर्दै महराले पाटी त्याग्नुभएको हो । महरा जस्तै माओवादीबाट विद्रोह गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।