खोटाङ, १८ फागुन । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राईले प्राप्त वर्तमान राजनीतिक उपलब्धिलाई संस्थागत गर्न माओवादीले नै चुनाव जित्नु पर्ने बताउनुभएको छ । योङ कम्युनिष्ट लिग नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगर समितिको प्रथम नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई बुधबार दिक्तेलमा सम्बोधन गर्नुहुँदै अध्यक्ष राईले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, लोकतन्त्र लगायतका प्राप्त वर्तमान राजनीतिक उपलब्धिलाई संस्थागत गर्न माओवादीले नै आगामी चुनाव जित्नु पर्ने धारण राख्नुभएको हो ।
जनताकी छोरी राष्ट्रपति बनाउँने, दलितकी छोरी सिडिओ बनाउँने, राईका छोरा हाकिम बनाउँने पार्टी माओवादी भएकाले यसलाई थप व्यवस्थित गर्न आगामी तीनवटै तहको निर्वाचन नेकपा (माओवादी केन्द्र)ले चुनाव जित्नु पर्ने बताउनुभयो । “जनताकी छोरी राष्ट्रपति भएको छ, दलितकी छोरी सिडिओ भाको छ, राईको छोरा हाकिम भएको छ”, उहाँले भन्नुभयो, “माओवादी नभएको भए यो व्यवस्था आउने थिएन । प्राप्त उपलब्धिलाई संस्थागत गर्न आगामी चुनाव आमोवादीले नै जित्नुपर्छ ।”
पूर्व सांसदसमेत रहनुभएका अध्यक्ष राईले माओवादीले चुनाव जित्नका लागि योङ कम्युनिष्ट लिगको अहम् भूमिका हुने भएकाले यसका लागि युवा दह्रो भएर चुनावको तयारीमा लाग्नु पर्ने धारणा राख्नुभयो । मुलुक परिवर्तनको सम्वाहक पनि युवा नै भएकाले आगामी चुनावमा दह्रो भएर लागीपर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
एमसीसीको सन्दर्भमा वर्तमान अवस्थामा पार्टीले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको अध्यक्ष राईले जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले यथास्थितिमा एमसीसी पारित नगर्ने नीति अवलम्बन गरेकाले व्याख्यात्मक प्रस्तावसहित अनुमोदन गरेकाले मुलुक सङ्कटबाट जोगिएको उहाँले बताउनुभयो ।
माओवादीले एमसीसी पारित गर्न छाडेर सत्ता बाहिर निस्कदा पनि एमाले–काँग्रेसले जस्ताको–तस्तै पारित गर्ने र त्यसले मुलुकलाई झन ठूलो सङ्कट नित्याउँने राईको तर्क छ । “हामी सरकारबाट बाहिर निस्केको भए एमाले–काँग्रेसले जस्ताको–तस्तै एमसिसी पारित गथ्र्यो”, उहाँले भन्नुभयो, “कम्तिमा हामीले व्याख्यात्मक घोषणासहित अनुमोदन गरेका छौँ । उक्त घोषणा एमसिसीलेसमेत स्वागत गरेको छ ।”
नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज समिता कार्की ‘अस्मिता’ले युवालाई चुनावको बेलामात्र उपयोग गर्ने तर, उनीहरुको रोजगार तथा अवसरका लागि पार्टीले ध्यान नदिनेजस्तो अवस्था देखिएकाले अब त्यस्तो हुन नहुने बताउनुभयो । संविधानसभा सदस्यसमेत रहनुभएका नेता कार्कीले मुलुक परिवर्तनका लागि युवाको महत्वपूर्ण भूमिका रहेको र उनीहरुलाई व्यवस्थापन गर्न पार्टीले ध्यान पूर्वक रुपमा योजना बनाएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रकै केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले युवामा अध्ययनशीलता र इमानदारिता हुनुपर्ने धारणा राख्नुभयो । वाईसियल नेपालका केन्द्रीय सचिव तथा प्रदेश १ का इन्चार्ज एबीराज राई, वाईसियल प्रदेश १ का संयोजक डम्बर पुलामी, नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष दीपक पाण्डे ‘आकाश’, नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका इन्चार्ज विनोद आचार्य, वाईसियल नेपालकी केन्द्रीय सदस्य प्रवीणा राई लगायतले धारणा राख्नुभएको थियो ।