खोटाङ, १८ फागुन । नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन (वाई.सि.एल) नेपाल योङ कम्युनिष्ट लिग दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिको अध्यक्षमा भूपेन्द्र राई चयन हुनुभएको छ । दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुधबार सम्पन्न वाई.सि.एल. नेपालको प्रथम सम्मेलनले राईलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।
नगर कार्यसमितिको उपाध्यक्षमा भलकाजी विश्वकर्मा, युवराज श्रेष्ठ र मनिका परियार, सचिवमा लेखबहादुर रम्तेल, सहसचिवमा एकराज श्रेष्ठ, भवप्रसाद आचार्य, रुपक परियार, रवीन चाम्लिङ र भीम श्रेष्ठ चयन हुनुभएको छ । ६७ सदस्यीय नगर कार्यसमितिको कोषाध्यक्षमा मेनुका राई चयन हुनुभएको जनाइएको छ ।
निर्वाचित नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई वाई.सि.एल. नेपालका केन्द्रीय सचिव तथा प्रदेश १ का इन्चार्ज एबीराज राईले पद तथा गोपणीयताको सपथ खुवाउनुभएको निर्वाचन मण्डलका सदस्य एवम् नेकपा (माओवादी केन्द्र) दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका सचिव युगशन किराँतले जानकारी दिनुभयो । नवनिर्वाचित नगर कार्यसमितिको पहिलो बैठकले आगामी निर्वाचनलाई लक्षित गरेर हरेक वडामा गतिविधि बढाउने निर्णय गरिएको जनाइएको छ ।
सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का नेता एवम् केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राईले माओवादीले चुनाव जित्नका लागि योङ कम्युनिष्ट लिगको अहम् भूमिका हुने भएकाले यसका लागि युवा दह्रो भएर चुनावको तयारीमा लाग्नु पर्ने धारणा राख्नुभयो । पूर्व सांसदसमेत रहनुभएका अध्यक्ष राईले मुलुक परिवर्तनको सम्वाहक पनि युवा नै भएकाले आगामी चुनावमा दह्रो भएर लागी पर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज समिता कार्की ‘अस्मिता’ले युवालाई चुनावको बेलामात्र उपयोग गर्ने तर, उनीहरुको रोजगार तथा अवसरका लागि पार्टीले ध्यान नदिनेजस्तो अवस्था देखिएकाले अब त्यस्तो हुन नहुने बताउनुभयो । संविधानसभा सदस्यसमेत रहनुभएका नेता कार्कीले मुलुक परिवर्तनका लागि युवाको महत्वपूर्ण भूमिका रहेको र उनीहरुलाई व्यवस्थापन गर्न पार्टीले ध्यान पूर्वक रुपमा योजना बनाएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रकै केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईले युवामा अध्ययनशीलता र इमानदारिता हुनुपर्ने धारणा राख्नुभयो । वाई.सि.एल. नेपालका केन्द्रीय सचिव तथा प्रदेश १ का इन्चार्ज एबीराज राई, संयोजक डम्बर पुलामी, नेकपा (माओवादी केन्द्र) प्रदेश १ का सदस्य तथा जिल्ला समन्वय समिति खोटाङका अध्यक्ष दीपक पाण्डे ‘आकाश’, नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका इन्चार्ज विनोद आचार्य, वाई.सि.एल. नेपालकी केन्द्रीय सदस्य प्रवीणा राई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।