खोटाङ, २४ फागुन । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क (उद्यान) निर्माण गरिएको छ । दश वर्षे माओवादी जनयुद्धका क्रममा विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ जना शहीदहरुको सम्मानस्वरुप पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो ।
शहीद स्तम्भ पार्कमा खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा नेपाल प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाउनुभएका शहीद मनोज जोशीको नामसमेत समावेश गरिएको छ । तत्कालीन नेकपा माओवादीको जिल्ला समिति सदस्य शहीद श्रेष्ठलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तारगरी वि.सं. २०५५ पुस–२७ गते उदयपुरको तावाश्रीमा लगेर गोली हानी हत्या गरेका थिए ।
शहीद जोशीलाई वि.सं. २०४८ साउन–१५ गते नेपाल प्रहरीले गोली हानेर हत्या गरेका थिए । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौता पूरा नभएको बिरोधमा कर्मचारीले निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले गोली हानेर हत्या गरेको हो ।
देश र जनताका लागि आफ्नो ज्यान आहुति दिनुहुने शहीदहरुको सम्मान र पर्यटकीयस्थल तावाभञ्ज्याङको प्रवद्र्धन गर्न शहीद स्तम्भ पार्क निर्माण गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताउनुभयो । “तावाभञ्ज्याङ प्राकृतिकरुपमै पर्यटकीयस्तल हो । तावाभञ्ज्याङको प्रवद्र्धन गर्न विभिन्न संरचनाहरु निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “प्रदेश सरकारको क्रमागत योजना अन्तरगत यस वर्ष रु १५ लाख लगानीमा शहीद स्तम्भ, पार्क र प्रवेशद्धार निर्माण गरिएको छ ।”
दश वर्षे जनयुद्धको समयमा माओवादीको सुरक्षित सेल्टर मानिने तावाभञ्ज्याङ नजिकै पाँचधारेमा वि.सं. २०६२ असार–८ गते माओवादी र नेपाली सेनाबीच दोहोरो भिडन्त हुँदा माओवादीका कम्पनी कमाण्डर सर्वधान राई ‘अग्नि’सहित दश जनाले ज्यान गुमाएका थिए । उक्त घटनामा नेपाली सेनाका १३ जना जवानसमेत मारिएका थिए ।
माओवादी युद्ध भूमि मानिने तावाभञ्ज्याङमा निर्माण गरिएको शहीद पार्कलाई बाह्रै महिना हराभरा बनाएर पर्यटकलाई आकर्षित गर्न पार्क वरिपरी व्यवसायिक रुपमा चिया बगानसमेत लगाइएको छ । शहीद पार्क निर्माणस्थलको दायाँ÷बायाँ करीब दश रोपनी जग्गामा गत वर्ष गाउँपालिकाको लगानीमा आठ हजार चिया बिरुवा लगाइएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो ।
पर्यटकीयस्थल तावाभञ्ज्याङ टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल (पदमार्ग)को प्रवेशद्धारमा पर्दछ । खोटाङ र भोजपुर सिमानामा पर्यटकीयस्थल तावाभञ्ज्याङको पर्यटन प्रवद्र्धन गर्न साकेला गाँउपालिकाको ३०, प्रदेश सरकारको ३५ र स्वीस सरकारको ३५ प्रतिशत अनुदान सहयोगमा पदमार्ग निर्माण गरिएको हो ।
त्रिपक्षीय सम्झौताको आधारमा निर्माण गरिएको मुन्धुम ट्रेल नेपाल सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमध्ये सबैभन्दा पहिलो प्राथमिकतामा पर्छ । गत वर्ष उक्त पदमार्गको दाँयाबाँया चौडा गर्ने, सुख्खा ढुङ्गाको सिँढी लगाउने र ढुङ्गाकै सोलिङ गर्ने लगायतका भौतिक पूर्वाधार निर्माणको काम भएको छ ।
समुन्द्री सतहदेखि करीब दुई हजार २०० मिटरको उचाईमा रहेको तावाभञ्ज्याङमा कृतिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत तयार गरिएको छ । प्रदेश नम्बर–१ कै नमूना तथा ठूलो कृतिम ताल निर्माण गर्ने तयारीका साथ साकेला गाउँपालिकाले डिपिआर तयार पारेको हो ।
करीब रु ५६ करोड लागतमा निर्माण सम्पन्न हुने कृतिम तालका लागि १ नम्बर प्रदेश सरकार र साकेला गाउँपालिकाको लगानी हुने गाउँपालिका प्रमुख झङ्कारले बताउनुभएको छ । तावाभञ्ज्याङमा निर्माण गरिने कृतिम ताल साढे ६०० मिटर लम्बाई र ५०० मिटर चौडाईको हुने डिपिआरमा उल्लेख छ ।
तीन वर्षभित्र पूरा गर्ने योजनाका साथ निर्माण गरिने कृतिम तालको काम आर्थिक वर्ष लाग्ने बित्तिकैबाट शुरु गरिने गाउँपालिकाले जनाएको छ । ताल निर्माणपछि आन्तरिक तथा वाह्य पर्यटकलाई करीब तीन घण्टासम्म डुङ्गा सयर गराउने, पौडी खेलाउन र दृष्यावलोकन गराउनका साथै तालभित्र माछा तथा हाँस पालन लगायतका क्रियाकलाप गर्नमा सहज हुने अपेक्षा गरिएको छ ।
पर्यटकीयस्थल तावाभञ्ज्याङ नजिकै पर्ने मखमलेमा रेन्बो ट्राउट माछा, भुरा तथा रेन्बो ट्राउटलाई दिइने दाना उत्पादन गर्ने श्रोत केन्द्रसमेत सञ्चालन गरिएको छ । ‘तावाहाङ रेन्बो ट्राउट कृषक समूह’ले शुरु गरेको रेन्बो ट्राउट फर्ममा अहिले करीब आठ क्विन्टल बिक्री गर्न लायक रेन्बो ट्राउट माछा उत्पादन भएका छन् ।
प्राकृतिक रुपमै पर्यटकीयस्थल रहेको तावाभञ्ज्याङको चौतर्फी प्रवद्र्धनको काम शुरु भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् । तावाभञ्ज्यामा पछिल्लो समय घरहरु निर्माण गर्ने तथा होटलहरु खोल्नेक्रम शुरु भएको छ ।
माघे सङ्क्रान्ति, नयाँ वर्ष, वैशाखे पूर्णिमा लगायतमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने पर्यटकीयस्थल तावाभञ्ज्याङमा होमस्टे (घरबास)समेत निर्माण गर्ने तयारी गरिएको छ । होमस्टे निर्माण तथा सञ्चालनका लागि गाउँपालिकाले यस वर्ष बजेटसमेत विनियोजन गरेको गाउँपालिका प्रमुख झङ्कारले जानकारी दिनुभएको छ ।