लागूऔषध गाँजासहित धमाधम पक्राउ पर्दै हलेसी क्षेत्रका व्यवसायी

Halesi Khabar
0 Shares

खोटाङ, २६ फागुन । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र ३३ वर्षीय धिरज राई सोमबार लागूऔषध गाँजासहित पक्राउ परेका छन् । दुर्छिमस्थित बतासेघाट नजिकै पर्ने सुइटेखोलाको बगरमा बिक्री गर्न बोरामा पोका पारेर त्रिपालले ढाकेर ठुलोमात्रामा लागूऔषध गाँजा लुकाएर राखेको छ भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीको आधारमा उनीहरुलाई ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजना विरुद्ध लागूऔषध बेचबिखन तथा कारोबार महल अन्तरगत जिल्ला अदालत खोटाङमा बुधबार मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । बत्तीस किलो ४८५ ग्राम लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरु दुवैजनालाई अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

गत भदौ–५ गते १५ केजी गाजाँसहित सोही नगरपालिकाको वडा नं.–७ महादेविस्थानस्थित कात्तिकेका ५७ वर्षीय मगम राईलाई प्रहरीले उनको घरैबाट पक्राउ गरेको थियो । राईले प्रतिबन्धित लागूऔषध गाँजा बिक्री गर्न घरमा लुकाएर राखेको स्थानीय बासिन्दाले दिएको जानकारीको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले उनलाई गाँजासहित पक्राउ गरेर मुद्दा चलाएको छ ।

यतिसम्म कि लागूऔषध उत्पादन गर्ने उद्योग नै सञ्चालन गर्दै आएका सोही नगरपालिकाको वडा नं.–१ बाहुनीडाँडाका दुई युवकलाई प्रहरीले गत असोज–२८ गते उद्योगबाटै पक्राउ गरेको थियो । गाँजा, सुर्ती र चुना प्रयोग गरेर लागूऔषध उत्पादन गर्दै आएका बाहुनीडाँडास्थित बयाक्ताका २१ वर्षीय सुवास राई र २३ वर्षीय अविन नेपालीलाई उद्योगबाटै पक्राउ गरेर मुद्दा चलाएको थियो ।

पक्राउ परेका राई र नेपालीको उद्योगबाट सात केजी गाँजा, १५ बोरा प्याकिङ गरिएको भाले ब्राण्डको सुर्ती, दुई बोरा खुला सुर्ती, दुई बोरा चुना, एक बोरा लागु औषध प्याकिङ गर्ने प्लाष्टिक, एक थान लागु औषध बनाउने मेसिन, दुई बोरा लागु औषध प्याकिङ गरिएको प्याकेटमा टालिने स्टिकर, दुई थान फलामे दाउ र एक थान अचानो बरामद गरेको थियो । पक्राउ परेका उनीहरु दुवैजना विरुद्ध प्रहरीले मुद्दा चलाउनुका साथै उनीहरुको उद्योगबाट बरामद गरेको कच्चा पदार्थ नष्ट गरेको थियो ।

यस्तै गत चैत–४ गते सोही नगरपालिकाको वडा नं.–७ राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । प्रहरीले दिएको जानकारी अनुसार गाँजा कारोबारमा संलग्न रहेका राई हाल फरार रहेका र उनीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेर उनको खोजी कार्य जारी रहेको जनाइएको छ ।

हलेसी क्षेत्रका स्थानीय बासिन्दाले अवैध रुपमा गर्दै आएका अवैध गाँजा खेती नष्ट गर्न तथा बिक्री वितरणमा रोक लगाउन जिल्ला प्रहरी कार्यालय खोटाङले अभियान नै सञ्चालन गर्दै आएको छ । बिगत वर्षहरुदेखि नै सञ्चालन गर्दै आएको अभियान अन्तरगत ईलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले यस वर्षमात्रै करोडौँ मूल्य पर्ने गाँजा खेती नष्ट गरेको जनाइएको छ ।

अवैध रुपमा गाँजा खेती गर्दै आएका पश्चिमी क्षेत्रका स्थानीय बासिन्दाले यसअघि प्रहरीलाई घुस खुवाएर बिक्री वितरण गर्ने गरेको स्रोतले जनाएको छ । समाचार स्रोतका अनुसार यस वर्ष पनि प्रहरीलाई घुस खुवाउन गाँजा खेती गर्ने स्थानीय बासिन्दाले रकम सङ्कलन गरेको बुझिएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको अधिकांश भागमा बसोबास गर्ने स्थानीय बासिन्दाले लागूऔषध गाँजाको अवैध रुपमा व्यवसायिक रुपमै खेती गर्दै आएका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी आसपासमा अन्य अन्नबाली उत्पादन नभएपछि स्थानीय बासिन्दाले विकल्पमा बिगत लामो समयदेखि लागूऔषध गाँजाको व्यवसायिक रुपमै खेती गर्दै आएका हुन् ।

हलेसी क्षेत्रमा लागूऔषध गाँजा खेती गर्न व्यवसायीले वर्ष दिनअघि नै पेश्की रकम दिने गरेको समाचार स्रोतले जनाएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा उत्पादन हुने गाँजा छिमेकी जिल्ला उदयपुर हुँदै अन्यत्र निर्यात हुने गरेको छ ।

तपाईको प्रतिक्रिया