निर्माण शुरु गरेको नौँ वर्षमा पनि सकिएन फोक्सिङ्टार पुल

Halesi Khabar
0 Shares

खोटाङ, २९ फागुन । सगरमाथा राष्ट्रिय राजमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुलको लागि तेस्रो पटक थप भएको म्याद आगामी चैत मसान्तमा सकिँदैछ । वि.सं. २०७३ चैत–२२ गते सम्पन्न गर्नेगरी वि.सं. २०६९ चैत–२३ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीसँग सम्झौता भएको फोक्सिङ्टार पुल निर्माणको काम पछिल्लो समय थप गरिएको समयसिमाभित्र पनि सम्पन्न हुने कुनै छाँटकाँट छैन ।

खोटाङबाट पूर्वी तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडक खण्डमा पर्ने फोक्सिङ्टारको पक्की पुल निर्माणमा ढिलासुस्ती हुँदाको प्रत्यक्ष असर जिल्लाको आर्थिक क्रियाकलापदेखि विकास निर्माणमा समेत पर्ने गरेको छ । पुल निर्माणमा ढिलासुस्ती हुँदा छ वर्षदेखि फोक्सिङ्टारमा अस्थायी बेलिब्रिज जडान गर्ने तथा झिक्नेक्रममा राज्यको करोडौँ रकम खर्च भइसकेको छ ।

अस्थायी रुपमा जडान गरिने फोक्सिङटारको बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा गर्नुका साथै दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता छ । ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल निर्माणमा ढिलासुस्ती आवत–जावत गर्नदेखि उपभोग्य सामान ढुवानीमा समेत समस्या हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताउनुभयो ।

खोटाङ र भोजपुर जिल्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग सडक खण्ड अन्तरगत जयरामघाटपछिको अर्को महत्वपूर्ण राजमार्गमा पर्ने फोक्सिङ्टारमा पक्की पुल नहुँदा हरेक वर्ष वर्षादको समयमा यातायात ठप्प हुने गरेको छ । पुल अभावमा वर्षको करीब छ महिना उक्त सडक खण्ड अवरुद्ध हुँदा जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य वृद्धि हुने गरेको उपभोक्ताहरुले बताउने गरेका छन् ।

फोक्सिङ्टार पुल निर्माणको जिम्मा लिएको ठेकेदारले पटक–पटक आफैले गरेको प्रतिवद्धता कुल्चदै आएको छ । गत माघ–२६ गते काठमाडौँमा भएको छलफलका क्रममा खोटाङकै दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राई र सडक बिभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का प्रमुख इन्जिनियर कैलाश साहको अगाडि निर्माण ठेकेदार रामकुमार थापाले पछिल्लो पटक थपिएको समयसिमाभित्र जसरी पनि पुलको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

फोक्सिङ्टार पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि चासो देखाएको थियो । ठेक्का लागेको लामो समयसम्म पुल निर्माणको प्रगति ‘शून्य’ देखिएपछि अख्तियारले ढिलासुस्ती नगर्न र तोकिएको म्यादभित्र पुल निर्माणका काम पूरा गर्नेगरी कामलाई अघि बढाउन वि.सं. २०७४ माघ–२ गते ठेकेदार कम्पनीलाई लिखितरुपमै पत्राचार गरेको थियो ।

फोक्सिङटारमा शुरुमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि ठेक्का लागेको थियो तर, त्यसको सट्टा ‘आर्क’ डिजाईनको पुल निर्माण गर्ने भन्दै वि.सं. २०७३ कातिकमा डिजाईन परिवर्तन गरिएको थियो । फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाई हुने भएको कारणले डिजाईन परिवर्तन गरेर ‘आर्क’ डिजाईनको पुल निर्माण शुरु गरिएको हो ।

दोस्रो पटक डिजाईन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुल निर्माणको काम शुरु गरेको थिएन । ठेकेदार कम्पनीले हाल पुल निर्माणको काममा ढिलासुस्तीको कारण त्यही डिजाईन परिवर्तन र डिजाईन स्वीकृतिमा भएको ढिलाईलाई देखाउने गरेको छ ।

निर्माणाधीन पुलको नयाँ डिजाईन स्वीकृत भएदेखि यता लामो समयसम्म पुल निर्माणको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीय बासिन्दा बताएका छन् । शिलान्यास गरेको लामो समयसम्म पुल निर्माणको काम सम्पन्न नभएपछि जिल्लामा हुने हरेक कार्यक्रममा ठेकेदार कम्पनीको आलोचना हुने गरेको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको पुल निर्माणको कामले पछिल्लो समय भने गति लिएको छ । फोक्सिङ्टारमा निर्माणाधीन पक्की पुल भ्याटसहित रु २२ करोड ६७ लाख ११ हजारमा पूरा गर्ने गरी गौरी पार्वती वाईपी जेभीले ठेक्का लिएको हो ।

निर्माणाधीन पक्की पुलको अहिले ‘आर्क’को ट्रस राखेर आरसिसी ढलान शुरु गरिएको ठेकेदार कम्पनीका प्रमुख मदन मगरले बताउनुभयो । “खोटाङ र उदयपुरतर्फ दुई÷दुई कोलम आरसिसी ढलान गरिसकिएको छ”, उहाँले भन्नुभयो, “आगामी चैत मसान्तभित्र ‘आर्क’ ढलानको काम सम्पन्न हुन्छ । ‘आर्क’ उठाउने काम सम्पन्न भएकाले अब वर्षामा समेत पुल निर्माणको काम रोकिँदैन । यस वर्ष कुनै पनि हालतमा सम्पन्न हुन्छ ।”

फोक्सिङटारमा निर्माणाधीन पक्की पुल १२० मिटर लम्बाईको हुने डिजाइनमा उल्लेख छ । निर्माणाधीन पक्की पुल सञ्चालनमा आएपछि जिल्लामा दैनिक उपभोग्यवस्तुको मूल्य घट्नुका साथै आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया