खोटाङ, १ चैत । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमीक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुई पटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो ।
फार्महरुमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र (फ्रेस हाउस)हरु अहिले बन्द भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि नगरपालिका ब्रोइलर कुखुराको मासु तथा अण्डामा आत्म निर्भर भएको घोषणा गर्दै तराईबाट आयात हुने ब्रोइलर कुखुरा तथा अण्डामा रोक लगाएपछि दिक्तेल बजारमा अहिले ब्रोइलर कुखुराको मासुको हाहाकार भएको छ ।
लामो समयको वर्षा र हिमपातपछि बढेको चिसोका साथै विश्वभर महामारीको रुपमा फैलिएको ओमीक्रोनको त्रासका कारण जिल्लामा ब्रोइलर कुखुराको मासु उत्पादन गर्न नसक्दा व्यवसायीले करोडौँको घाटा व्यहोर्नु परेको पोल्ट्री व्यवसायी सङ्घ खोटाङका अध्यक्ष सुवास जोशीले बताउनुभयो । “प्रति केजी रु ५०० मा बिक्री हुने ब्रोइलर कुखुराको मासु दिक्तेल बजारमा मात्रै दैनिक २५० देखि ३०० केजीसम्म बिक्री हुने गरेको थियो”, उहाँले भन्नुभयो, “चिसो र ओमीक्रोनको त्रासका कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा ग्रहकलाई दिन सकिएको छैन । पछिल्लो समय चिसो र ओमीक्रोनको त्रास केही कम भएसँगै अधिकांश फार्ममा चल्ला हालिएको छ । अब फागु पुर्णिमा अर्थात होली पर्वदेखि निरन्तर बजारमा ल्याउने तयारी गरेका छौँ ।”
जिल्लाका सहरी क्षेत्र तथा गाउँमा समेत ब्रोइलर कुखुराको मासु अभाव भएपछि अहिले अण्डाको माग भने बढेको पोल्ट्री व्यवसायीहरुले बताएका छन् । अण्डाका लागि दिक्तेल बजारमामात्रै व्यवसायिक रुपमा करीब पाँच हजार लेयर्स कुखुरा पालिएका छन् ।
दिक्तेल बजारमा सञ्चालित लेयर्स कुखुरा फार्मबाट पछिल्लो समय दैनिक करीब १५÷२० काटन अण्डा बिक्री हुने गरेको पोल्ट्री व्यवसायी सङ्घले जनाएको छ । यद्यपि, तराईका विभिन्न जिल्लाबाट कम मूल्यमा आयात गरिने अण्डाले जिल्लामा उत्पादित अण्डा बिक्रीमा समस्या हुने गरेको बताइएको छ ।
व्यवसायीका अनुसार उत्पादन भएको अण्डा २० दिनदेखि महिना दिनभित्र उपयोग गरिसक्नुपर्ने हुन्छ । तराईबाट आयात हुने अण्डा कति दिन उत्पादन भएको हो भन्ने पहिचान नहुँदा महिनौँपछि समेत उपभोग गर्ने गरिएको छ ।
दिक्तेल बजार तथा आसपासका क्षेत्रमा समेत ब्रोइलर कुखुराको मासु पाउन छाडेपछि अहिले जिल्लामा स्थानीय जातका कुखुराले भने राम्रो मूल्य पाएको छ । यसअघिसम्म प्रति केजी रु ८०० मा पाउने स्थानीय जातका कुखुराको मूल्य बढेर अहिले प्रति केजी रु ९०० देखि रु एक हजारसम्म पुगेको उपभोक्ताहरुले बताएका छन् ।
स्थानीय जातका कुखुरको माग बढेसँगै जिल्लामा व्यवसायिक रुपमा स्थानीय जातका कुखुरा पालन गर्नेको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ । दिक्तेल बजारमै ह्याचरी उद्योग (स्थानीय जातका कुखुरको चल्ला उत्पादन गर्ने मेसिन) सञ्चालन गरेर गाउँगाउँमा स्थानीय जातका कुखुराको चल्ला बिक्री वितरण शुरु भएको छ ।
ब्रोइलर कुखुराको मासु अभाव भएपछि जिल्लामा राँगा र सुँगुरको मासुसमेत पाउन समस्या भएको दिक्तेलस्थित रङ्गमपार्कका होटल व्यवसायी जयप्रसाद राईले बताउनुभएको छ । “दिक्तेल बजारमा राँगा र सुँगुरको मासु नियमित पाउने पसल अहिलेसम्म सञ्चालन भएको छैन”, उहाँले भन्नुभयो, “हाटको दिनमात्र काटिने राँगा र सुँगुरको मासु लिन बिहान सबेरै उठेर भेजा (गाउँमा मासु काटेर भाग लगाउने ठाउँ)मा पुग्नुपर्ने अवस्था सिर्जना भएको छ । अलि ढिलो गरिए रित्तो हात फर्कनुपर्छ ।”
ब्रोइलर कुखुराको मासु पाउन छाडेसँगै जिल्लामा अहिले तराईका व्यवसायीले छिमेकी देश भारत तथा तराईका विभिन्न जिल्लाबाट माछा ल्याएर धमाधम पसल खोलेर बिक्री गर्न थालेका छन् । तराईबाट आएका व्यवसायीले अहिले दिक्तेल बजारका चोकचोकमा बिना दर्ता माछा पसल खोलेर खुलेआम बिक्री वितरण गरिरहेका छन् ।
दिक्तेल बजारमा सञ्चालित पसलमा बिक्री गर्न राखिएका माछा गुणस्तरहीन (खानयोग्य नभएको) रहेको गुनासोसमेत आउने गरेको छ । छिमेकी देश भारत तथा तराईका विभिन्न जिल्लाबाट व्यवसायीले मरेको माछा फ्रिजमा ल्याएर बिना परीक्षण खुलेआम बिक्री गरिरहेको विषयमा अहिलेसम्म कसैको चासो गएको छैन ।