खोटाङ, २ चैत । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । भौगोलिकरुपमा बिकट तथा सुरक्षाको दृष्टिकोणले संवेदनशील क्षेत्र मानिने राखाबाङ्देलमा स्थापना गरिएको अस्थायी प्रहरी चौकी बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
राखाबाङ्देल स्थानीय बासिन्दाको बस्ती पातलो भएको तथा सुरक्षाका दृष्टिकोणले अति नै संवेदनशील भएकाले तत्कालका लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो । ‘समुदायसँग प्रहरी’ भन्ने नेपाल सरकारको नीति अनुसार राखाबाङ्देलका स्थानीय बासिन्दाको शान्ति÷सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको जनाइएको छ ।
राखाबाङ्देलमा स्थापना गरिएको प्रहरी चौकीका लागि स्थानीय बासिन्दा एवम् समाजसेवी महादेव गिरीले निःशुल्क घर उपलब्ध गराउनुभएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजना प्रहरी रहनेगरी स्थापना गरिएको अस्थायी प्रहरी चौकी प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका प्रमुख फणिन्द्र दाहाल र ऐसेलुखर्क गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने राखाबाङ्देलमा स्थानीय बासिन्दाले लामो समयदेखि प्रहरी चौकी स्थापनाको माग गर्दै आएका थिए । राखाबाङ्देलमा अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति÷सुरक्षामा केही सहज हुने स्थानीय बासिन्दाको अपेक्षा छ ।
राखाबाङ्देलमा स्थापना गरिएको अस्थायी प्रहरी चौकीलाई चाँडै नै स्थायी बनाउनेगरी पहल गर्ने प्रजिअ दाहालले बताउनुभएको छ । “सुरक्षाकर्मी अभावमा अराजक गतिविधि हुने भइरहने राखाबाङ्देलमा तत्कालका लागि जिल्लाकै सुरक्षाकर्मी खटाएर अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ”, उहाँले भन्नुभयो, “स्थानीय बासिन्दाको शान्ति÷सुरक्षालाई मध्यनजर गर्दै स्थापना गरिएको अस्थायी प्रहरी चौकीलाई चाँडै स्थायी बनाउनका लागि आवश्यक जग्गा व्यवस्था गर्न गाउँपालिकालाई आग्रह गरिएको छ ।”
राखाबाङ्देलमा स्थापना गरिएको अस्थायी प्रहरी चौकीसँगै दश स्थानीय तह रहेको जिल्लामा ४१ वटा प्रहरी युनिट भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा एउटा जिल्ला प्रहरी कार्यालय, छवटा इलाका प्रहरी कार्यालय ३४ वटा प्रहरी चौकी सञ्चालित छन् ।