एमसिसी देश विकासको सहयोगी परियोजना हो : प्रधानमन्त्री देउवा

Halesi Khabar
0 Shares

खोटाङ, ७ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) देश विकासको सहयोगी परियोजना भएको बताउनुभएको छ । खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई आज (सोमबार) सम्बोधन गर्नहुँदै प्रधानमन्त्री देउवाले एमसिसी परियोजना देशको हितमा भएकाले बिरोध गर्नुको कुनै औचित्य नरहेको दाबी गर्नुभयो ।

एमसिसी परियोजना लागू भएपछि नेपालको सडक, विद्युत र आर्थिक विकासमा ठुलो टेवा पुग्ने प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो । “केही व्यक्तिहरु एमसिसी परियोजनालाई लिएर गलत व्याख्या गरिरहेका छन्”, उहाँले भन्नुभयो, “एमसिसी परियोजनाले नेपालको सडक, विद्युत र आर्थिक विकासमा ठुलो टेवा पु¥याउने भएकाले संसदबाट पारित गरेर कार्यान्वयनको चरणमा अगाडि बढाइएको हो ।”

मोटरेबल पक्की पुल उद्घाटनसत्रलाई करीब पाँच मिटेन सम्बोधन गर्नुभएका प्रधानमन्त्री देउवाले खोटाङ जिल्ला कृषि उत्पादनका लागि उर्वरभूमि भएकाले व्यवसायिक कृषि तथा कृषि पर्यटन विकासमा जोड दिन जिल्लावासीलाई आग्रह गर्नुभएको छ । “खोटाङ जिल्ला कृषि पर्यटनको राम्रो सम्भावना बाकेको जिल्ला हो”, उहाँले भन्नुभयो, “जिल्लामा उत्पादित कृषि उत्पादनलाई बाहिरी जिल्लामा निर्यात गरेर आर्थिक उपार्जन गर्न सकिने भएकाले स्थानीय सरकारले यसतर्फ ध्यान दिन जरुरी छ ।”

प्रधानमन्त्री देउवा समक्ष दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख एवम् नेपाली काँग्रेस १ नं. प्रदेश समितिका महामन्त्री भूपेन्द्र राईले जिल्लाको समग्र विकासका लागि पाँच बुँदे मागपत्र पेश गर्नुभएको छ । गाउँपालिका प्रमुख एवम् महामन्त्री राईले दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाको आहालेबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका हँुदै उदयपुर जोड्ने सडक कालोपत्रको लागि आवश्यक बजेटको व्यवस्था गरिदिन, फोक्सिङ्टार पुललाई यथाशीघ्र सम्पन्न गर्ने वातावरण मिलाइ दिन, खोटाङ र उदयपुर जोड्ने सुनकोशीको पुलहरु (धाप्लाङ्घाट र रानीटार)को निर्माणाधीन पक्की पुल यथाशीघ्र सम्पन्न गराउन, सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत लिफ्टिङ खानेपानी आयोजना चाँडो सम्पन्न गराउन र विद्युतीकरण हुन बाँकी जिल्लाका विभिन्न ठाउँहरुमा तत्काल विद्युतीकरण गराइदिन प्रधानमन्त्री देउवासमक्ष मागपत्र पेश गर्नुभएको हो ।

गाउँपालिका प्रमुख एवम् महामन्त्री राईले पेश गर्नुभएको मागपत्र ग्रहण गर्नुहुँदै प्रधानमन्त्री देउवाले आगामी आर्थिक वर्ष सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । खोटाङ र उदयपुरको सिमानामा पर्ने धाप्लाङघाट र रानीटारको पुलको प्रधानमन्त्री देउवाले वि.सं. २०७४ सालमा शिलान्यास गर्नुभएको थियो ।

जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सडक खण्डको बाटोफेदीस्थित साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल गत साउनमा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने साप्सुखोलामा निर्माण गरिएको पुल मूल्य अभिबृद्धि करसहित रु पाँच करोड ६० लाख दश हजार ५४५ मा निर्माण सम्पन्न भएको हो ।

वि.सं. २०७६ असार ११ गते शिलान्यास गरिएको प्रिस्ट्रेस बिम मोटरेबल पक्की पुल ४० मिटर लामो छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको रु दुई करोड बजेटमा निर्माण सम्पन्न भएको पक्की पुल सुर्य एण्ड सन्स प्रा.लि.ले निर्माण गरेको हो ।

निर्माण कम्पनीले वि.सं. २०७८ जेठ १७ गते निर्माणको काम सम्पन्न गर्नेगरी वि.सं. २०७६ जेठ १७ गते सम्झौता गरेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा तोकिएको समयभन्दा अगाडि नै पुल निर्माणको काम सम्पन्न भएको हो ।

साप्सुखोलामा निर्माण गरिएको पक्की पुल सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रमा पर्ने दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको छ । साप्सुखोलामा मोटरेबल पक्की पुल अभावमा वर्षादको समयमा करीब छ महिना यातायात सञ्चालन नहुँदा आवतजावतमा समस्या हुनुका साथै दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समस्या हुने गरेको थियो ।

लामो समयसम्म साप्सुखोलामा मोटरेबल पक्की पुल नहुँदा अवरुद्ध हुँदै आएको सडक खण्डमा मोटरेबल पक्की पुल बनेर सञ्चालनमा आएसँगै बाह्रै महिना उक्त सडक सञ्चालन हुने भएपछि जिल्लाको दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएका छन् । विशेषगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थललाई सिधा सडक सञ्जालमा जोड्ने गरी साप्सुखोलामा पक्की पुल निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया