खोटाङ, १४ चैत । आगामी वैशाख–३० गते देशभर एकैसाथ सम्पन्न गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३ वटा राजनीतिक दल दर्ता भएका छन् । किराँत खम्बुवान साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान राष्ट्रिय मोर्चा, नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, जनसमाजवादी पार्टी, नेपाल मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपालको लागि नेपाली पार्टी र नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो ।
राष्ट्रिय दलको मान्यता प्राप्त दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने जिल्लामा विवरण बुझाउनु नपर्ने सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो । आफ्नै निर्वाचन चिह्न लिन निर्वाचन आयोगले तोकेको समयमा राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका १३ दलको जिल्लास्तरको सङ्गठनात्मक संरचना (जिल्ला समिति) बारे विवरण प्राप्त भएको हो ।
निर्वाचनमा उठ्ने उम्मेदवारलाई सोही दलको चुनाव चिन्ह दिनका लागि राष्ट्रिय दल बाहेकका दललाई जिल्लास्तरको सङ्गठन संरचनाको विवरण चैत–६ गतेभित्र पेश गर्न भनिएको थियो । राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका राजनीतिक दललाई मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि चुनाव चिन्ह प्रदान गरिने जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिनुभयो ।
आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका एक लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । आगामी वैशाख–३० गते देशभर एकसाथ सम्पन्न गर्नेगरी तोकिएको निर्वाचनमा जिल्लाका पुरुष मतदाता ७५ हजार छ र महिला मतदाता ६८ हजार ७४६ ले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् ।
निर्वाचन आयोगले वैशाख–२९ गतेसम्ममा १८ वर्ष पूरा भएका नागरिकलाई समावेश गरेर मतदाताको नामावली आइतबार टुङ्ग्याएको छ । आयोगका अनुसार ऐसेलुखर्क गाउँपालिकामा ११ हजार ४९५, केपिलासगढी गाउँपालिकामा दश हजार ८३८, खोटेहाङ गाउँपालिकामा १५ हजार २४५, जन्तेढुङ्गा गाउँपालिकामा दश हजार २१३, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ हजार ४३१ मतदाता छन् ।
यस्तै, बराहपोखरी गाउँपालिकामा नौँ हजार ३६४, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८, रावाबेँसी गाउँपालिकामा नौँ हजार ६१८, साकेला गाउँपालिकामा आठ हजार ५४८ र हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ९२१ मतदाता कायम भएको आयोगले जनाएको छ ।
मतदास्थल र मतदान केन्द्र तोकियो
आसन्न स्थानीय तहको निर्वाचनका लागि खोटाङमा १३६ मतदानस्थल र १९४ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन आयोगले ऐसेलुखर्क गाउँपालिकामा १३ मतदान स्थल र १५ मतदान केन्द्र, केपिलासगढी गाउँपालिकामा १३ मतदानस्थल र १५ मतदान केन्द्र, खोटेहाङ गाउँपालिकामा १५ मतदानस्थल र २१ मतदान केन्द्र, जन्तेढुङ्गा गाउँपालिकामा १२ मतदानस्थल र १५ मतदान केन्द्र, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ मतदानस्थल र १८ मतदान केन्द्र तोकेको छ ।
यस्तै, बराहपोखरी गाउँपालिकामा दश मतदानस्थल र १३ मतदान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २४ मतदानस्थल र ४४ मतदान केन्द्र, रावाबेँसी गाउँपालिकामा दश मतदानस्थल र १४ मतदान केन्द्र, साकेला गाउँपालिकामा आठ मतदानस्थल र १२ मतदान केन्द्र तथा हलेसी तुवाचुङ नगरपालिकामा–१८ मतदानस्थल र २७ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकियो
स्थानीय तहको पहिलो पाँच वर्षे कार्यअवधि सकिन लाग्दा पुनः निर्वाचनको माहोल बढेको छ । राजनीतिक दलहरु चुनावी मैदानमा व्यस्त छन् भने, निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनकै पूर्वतयारीमा खोटाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिएका छन् । आगामी वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार सूचना जारी गर्दै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको जानकारी दिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायधिस मातृकाप्रसाद आचार्यलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ । ऐसेलुखर्क गाउँपालिकामा श्रेष्तेदार रमाकान्त यादव, केपिलासगढी गाउँपालिकामा इलाका प्रशासन कार्यालय, साँखु, काठमाडौँका उपसचिव राजकुमार राई, खोटेहाङ गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गेहेन्द्रराज रेग्मी, जन्तेढुङ्गा गाउँपालिकामा महालेखा नियन्त्रक कार्यालय, काठमाडौँका उपसचिव मानबहादुर मगर, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भिर घिमिरेलाई निर्वाचन अधिकृत तोकिएको छ ।
यस्तै, बराहपोखरी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश १ बिराटनगरका उपसचिव कोपिला राई, रावाबेँसी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत लालबहादुर कार्की, साकेला गाउँपालिकामा नेपाल कानून आयोगका उपसचिव राजन नेपाल र हलेसी तुवाचुङ नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायधिवक्ता सँगीता न्यौपाने (ढुङ्गेल)लाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको आयोगको सूचनामा उल्लेख छ । जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई चैत–२९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ ।