खोटाङ, १६ चैत । नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङले ६७ औं स्थापना दिवस मनाएको छ । ६७ औं स्थापना दिवसको अवसरमा महासंघले ‘स्थानीय तहको निर्वाचनमा पत्रकारहरुको भूमिका’ विषयमा जिल्लामा क्रियाशिल पत्रकार र सञ्चारकर्मीसँग अन्तरक्रिया गरी दिवस मनाएको हो ।
बुधबार दिक्तेल बजारस्थित जिल्ला समन्वय समितिको बैठक हलमा भएको अन्तरक्रियामा सहभागी पत्रकारहरुले निर्वाचनका समयमा कसैले कसैलाई आक्षेप नलाग्नेगरी सन्तुलन मिलाएर समाचार लेख्नुपर्ने निष्कर्ष निकालेका छन् । पछिल्लो समय पत्रकारिता गरिरहेका पत्रकारहरु राजनीतिमा सक्रिय देखिदा पत्रकारिता पेशा संकटमा पर्ने सम्भावना रहेको, पत्रकार आचारसंहिताको ख्याल नगरेको, मर्यादित पत्रकारिता नभएको लगायत अन्तरक्रियामा आवाज उठेको थियो ।
अन्तरक्रियामा उठेका सवालहरु मननयोग्य भएको र पत्रकारहरुले त्यसलाई सच्याउनुपर्ने पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष दिलीप खत्रीले बताउनुयो । पत्रकारले लेखेको कुनै पनि समाचारमा कसैले पनि औला ठड्याउने ठाउँ हुनु भएन । उहाँले भन्नुभयो, “पत्रकारहरुले नैतिकता र आचारसंहितामा जोड दिन आग्रह गर्दछु ।”
महासंघको जिल्ला शाखाले कोरोना भाईरससँग लड्दै पेशागत संगठनहरुसँग भर्चुअल बैठक गरेर संकटका बेला स्वास्थ्य सावधानी कसरी अपनाएर कार्यसम्पादन गर्ने भनेर जोडिन प्रयास गरेको, अफ्ठ्यारोमा परेका पत्रकारका लागि सहयोग गर्ने उद्देश्यले पत्रकार आपतकालिन कोष स्थापना गरेको, पत्रकारको सुरक्षाका लागि एप्रोन तथा स्वास्थ्य सामग्री वितरण गरिएको र अफ्ठ्यारोमा परेका कही पत्रकारलाई आर्थिक सहयोग समेत गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।