खोटाङ, १८ चैत । दिक्तेल मेयर कप तेस्रो केएफए क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि योङ ब्वाइज फुटबल क्लब दिक्तेलले उचालेको छ । खोटाङ फुटबल एकेडेमी दिक्तेलले आयोजना गरेको प्रतियोगिता अन्तरगत शुक्रबार सम्पन्न फाइनल खेलमा बाहुनीडाँडा फुटबल क्लब हलेसीलाई ट्राइब्रेकरमा हराउँदै योङ ब्वाइज फुटबल क्लब दिक्तेलले उपाधि चुमेको हो ।
दिक्तेलस्थित माटीकोरे खेलमैदानमा आयोजित प्रतियोगिताको पहिलो हाफमा बाहुनीडाँडाका खेलाडी डिकेन्स राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि दोस्रो हाफको अन्तिम समयमा योङ ब्वाइज फुटबल क्लबका युशन राईले गोल फर्काएर बराबरी बनाएका थिए । प्रतियोगिताको निर्धारित समयमा दुवैतर्फको एक÷एक गोल भएपछि फाइनल खेल ट्राइब्रेकरमा धकेलिएको थियो ।
गत चैत–११ गतेदेखि जारी प्रतियोगितामा युनिटी फुटबल क्लब बाक्सिला र सप्तेश्वर फुटबल क्लब सप्तेश्वरले सेमिफानलिष्टमा चित्त बुझाएका छन् । ‘स्थानीय खेलाडी र क्लबको पहिचान, खोटाङ एकेडेमीको अभियान’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा जिल्लाका १६ वटा क्लबले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेताले रु एक लाख २५ हजार, उपविजेताले रु ६५ हजार र सेमीफाइनलिष्टले रु २०÷२० हजार नगदका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरिएको खेल संयोजक श्यामकुमार पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताका विजयी खेलाडीलाई नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षक योङ ब्वाइज फुटबल क्लबका निशान विश्वकर्मा, उत्कृष्ट डिफेण्डर नेर्पा स्पोर्टस क्लबका विशाल राई, उत्कृष्ट मिड फिल्डर बाहुनीडाँडाका विनोद राई, सर्वाधिक गोलकर्ता बाहुनीडाँडाका डिकेन्स राई र उत्कृष्ट प्रशिक्षक बाहुनीडाँडाका दिलिप वाम्बुले राईले नगद रु पाँच÷पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । यस्तै, प्रतियोगिता अवधिभरका सर्वोत्कृष्ट खेलाडी बाहुनीडाँकै डिकेन्स राई चयन हुनुभएको राईलाई नगद रु सात हजारका साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
यसैगरी, प्रि–क्वाटरफाइनलमा विजयी हुनेलाई रु दुई हजार, क्वाटरफाईनल जित्नेलाई रु तीन हजार, सेमीफाइनल जित्नेलाई रु तीन हजार ५०० र फाइनल जित्नेलाई थप रु चार हजार प्रोत्साहन रकम प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका आधिकारिक क्लिबलाई मात्र सहभागी गराइएको थियो ।
‘खेलकुदको अभियान खोटाङको पहिचान’ भन्ने नारासहित वि.सं. २०७३ सालमा स्थापना भएको एकेडेमीले ‘फुटबल सबैका लागि’ भन्ने नारासहित विभिन्न उमेर समूहका खेलाडीलाई सहभागी गराएर फुटबलको प्रशिक्षण सञ्चालन गर्दै आएको छ । फुटबललाई व्यवसायीकरण गर्दै व्यवसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ एन्फासँगको साझेदारीमा ग्रासरुटको फुटबल प्रशिक्षणसमेत सञ्चालन गरिरहेका छ ।
एकेडेमीले वि.सं. २०७४ सालमा पहिलो र वि.सं. २०७७ सालमा दोस्रो सँस्करण सञ्चालन गरेको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजित तेस्रो सँस्करणको फुटबल प्रतियोगिता समापन कार्यक्रममा दर्शक तथा खेलप्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
फुटबल प्रतियोगिता उद्घाटनको अवसरमा दिक्तेलको माटीकोरेमा निर्माण गरिने रङ्गशालासमेत शिलान्यास गरिएको छ । केएफएको पहलमा रङ्गशाला बनाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले गत मङ्सिर–२७ गते रु चार करोड ८० लाख बजेटको टेण्डर आव्हान गरेर सम्झौता गरिसकेको छ ।