खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

Halesi Khabar
0 Shares

खोटाङ, २१ चैत । यहि चैत्र–२९ गतेदेखि वैशाख–४ गतेसम्म खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा ७११ वटा खोप केन्द्र निर्धारण गरेर एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो ।

टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीति अनुसार जिल्लाका दशवटै स्थानीय तहमा एकैसाथ खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । “टाइफाइड रोगको सङ्क्रमण सबै उमेर समूहमा हुन्छ, तर १५ वर्षमुनिका बालबालिकामा ११ गुणा बढी हुने एक अध्ययनले देखाएको छ”, उहाँले भन्नुभयो, “सरकारको नीति अनुसार सञ्चालन गर्न लागिएको टाइफाइड विरुद्धको खोप अभियान सफल पार्न जिल्लाका सबै संयन्त्र परिचालन गरिएको छ ।”

टाइफाइड रोगविरुद्धको खोप अभियान अन्तरगत सोमबार जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, कार्यालय प्रमुख, सुरक्षा निकाय तथा पत्रकारसँग स्वास्थ्य कार्यालयले अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागी जिल्लास्थित सबै सरोकारवाला व्यक्ति तथा निकायले टाइफाइडविरुद्धको खोप अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा खोप लगाएपछि खोप लगाएको भागमा रातो हुने, सुन्निने, दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, आलस्य लाग्ने, शरीरमा बिमिराहरु आउने, हातखुट्टा दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने जस्ता लक्षणहरु देखा पर्ने जनाइएको छ । खोप लगाएपछि देखिने लक्षणबाट नआत्तिन र गम्भीर समस्या आइपरेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आग्रह गरेको छ ।

जिल्लामा सञ्चालन गर्न लागिएको खोप अभियानमा एक हजार ४४२ जना स्वयम् सेवक र ७२७ जना खोप कार्यकर्ता परिचालन गरिएको जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले जानकारी दिनुभयो । जिल्लालाई भ्याक्सिन भायल ११ हजार ८४८, एडि सिरिन्ज ५८ हजार ६५२, आइसप्याक एक हजार २४३, कोल्ड क्यारियर ३०६ लगायत आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु तयारी अवस्थामा रहेको जनाइएको छ ।

खोप अभियानको क्रममा दुई वर्षमुनिका बालबालिकाको नियमित खोप दादुरा–रुबेलाको दोस्रो मात्रा लगायत अन्य छुट भएका खोपको पहिचानगरी पूर्ण खोप सुनिश्चितता र दीगोपना भएको यकिन गरिनेसमेत जनाइएको छ । शुरुमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई अभियानको रुपमा एक मात्र खोप दिइने र सो पश्चात नियमित खोपमार्फत नियमितरुपमा टाइफाइड विरुद्धको खोपसमेत सबै बालबालिकालाई निरन्तर दिइने लक्ष्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको प्रतिवेदन अनुसार नेपालमा विगत पाँच वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करीब चार लाख ५० हजार जनामा टाइफाइडको सङ्क्रमण हुने गरेको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार पानी र खानेकुराबाट हुने सङ्क्रामक रोगमध्ये टाइफाइड तेस्रो स्थानमा रहेको र अस्पताल भर्ना हुने बिरामीमध्ये चौथो कारण टाइफाइड नै भएको देखिएको छ ।

तपाईको प्रतिक्रिया