खोटाङ, २२ चैत । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि तीन जिल्लाका करीब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम शुरु भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तरगत पर्ने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको नौँ हजार रोपनी र सोलुखुम्बुको ५०० रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटमा ६३५ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन हुँदै छ । ओखलढुङ्गाको जग्गा प्राप्ति (अधिग्रहण)का लागि गत फागुन–२३ गते गोरखापत्र दैनिकमा सूचना निकालिएको थियो ।
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनकांं लागि ंंंसरकारी जग्गा बाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण हुने अनुमान गरिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिनुभएको छ । उपनिर्देशक प्रखाछेँलेका अनुसार खोटाङको रावाबेँसी गाउँपालिकाका पाँच हजार ३०४ कित्ता, ऐसेलुखर्क गाउँपालिकाका ५२२ कित्ता, ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिकाका दुई हजार ४०९ कित्ता जग्गा अधिग्रहणको तयारी गरिएको छ ।
सोलुखुम्बु जिल्लाको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्ति सम्बन्धी सूचना आह्वान गर्न लागिएको जनाइएको छ । सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत् जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने कार्यमा रोक लगाइएको छ ।
खोटाङतर्फको जग्गा गत असार–२३ गतेदेखि नै रोक्का गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभएको छ । तर, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा निर्माण गरिने पावर हाउस, क्याम्प तथा लामीडाँडामा निर्माण गरिने ड्याम र क्याम्पका लागि आवश्यक जग्गा अधिग्रहणका लागि पनि गत फागुन–२६ गते अर्को सूचना प्रकाशन गरिएको थियो ।
धितुङ र लामीडाँडामा थप दुई हजार रोपनी जग्गा अधिग्रहण हुने दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाले जनाएको छ । जलाशययुक्त जलविद्युत आयोजनाका लागि खोटाङमा भने मुआब्जा वितरण गर्न जग्गाको मूल्याङ्कन गर्ने काम अन्तिम चरणमा पु¥याइएको मुआब्जा निर्धारण उपसमितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।
लामीडाँडाको रभुँवाघाटस्थित कोशी किनारमा रहेको बजारमा २०० मिटर अग्लो बाँध हालेर बनाइने जलाशययुक्त जलविद्युत आयोजनाबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत् धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजना अघि बढिरहेको छ । रभुँवाघाटमा निर्माण गरिने बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोशी किनारमा दश, खोटाङतर्फको रावाखोलामा आठ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा चार किलोमिटर क्षेत्रफल डुबान हुने जनाइएको छ ।
दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबाट तीन जिल्लाका एक हजार १५० घरधुरी स्थानीय बासिन्दा प्रभावित हुने भएका छन् । खोटाङको ६५७, ओखलढुङ्गाको ४७९ र सोलुखुम्बुको १४ गरि तीन जिल्लाका एक हजार १५० घरधुरी स्थानीय बासिन्दा प्रभावित हुने भएका हुन् ।
जापान सरकारको सहयोगमा कोशी बेशिन अध्ययन गुरुयोजना अन्तरगत वि.सं. २०४२ सालमा पहिचान भएको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको काम अघि बढाउन सरकारलाई सिफारिस गरिएको विद्युत प्राधिकरणले जनाएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासँगै दूधकोशी जलाशयमा डुङ्गा सयर, माछा पालन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दूधकोशी जलाशययुक्त आयोजना सञ्चालन हुँदा रभुँवामा बन्ने जलाशयमा त्रिधार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिने जनाइएको छ । दूधकोशी जलाशययुक्त आयोजना सफल पार्न खोटाङका स्थानीय बासिन्दा एवम् नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलको संयोजकत्वमा तीन जिल्लाका प्रतिनिधि सम्मिलित सरोकार समाजसमेत गठन गरिएको छ ।