खोटाङ, २३ चैत । नेपाल टेलिकम खोटाङले दिक्तेल बजारमा ‘फाइवर टु दि होम’ (घरघरमा फाइवर) सेवाको शुभारम्भ गरेको छ । टेलिकमले आफ्नो सेवालाई गुणस्तरीय बनाउन तथा सेवाग्राहीलाई द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरण अन्तरगत दिक्तेल बजारको तल्लो भेग (बेशक्याम्पभन्दा मुनि)मा ‘फाइवर टु दि होम’ सेवा सञ्चालनमा ल्याएको हो ।
पुरानो प्रविधिको कपर (तामाको तार) प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटक–पटक इन्टरनेट सेवा आउने÷जाने लगायतका समस्याका कारण सेवाग्राहीले हैरानी खेप्नुपर्ने अवस्था अन्त्य गर्न फाइवर सेवा सञ्चालनमा ल्याइएको टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताउनुभयो । टेलिकमले करीब वर्ष दिन लगाएर फलामे पोलमार्फत सेवाग्राहीको घरघरमा फाइवर तार पु¥याएको छ ।
आगामी वैशाख महीनाभित्र दिक्तेल बजारका सबै ग्राहकलाई कपर विस्थापित गरेर फाइवर सेवामा लगिसक्ने योजना रहेको टेलिकम खोटाङले जनाएको छ । टेलिकमका सेवाग्राहीले अब ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल इन्टरनेट, मोबाइल डाटा प्याक लगायतका सेवा द्रुतगतिमा लिन पाउने भएका छन् ।
पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधिको प्रयोगबाट फाइवर सेवा दिन शुरु गरिएको टेलिकमले जनाएको छ । कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइवर प्रविधिको इन्टरनेट द्रुतगतिमा चल्ने टेलिकमका कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो ।
दिक्तेल बजारमा सञ्चालन गरिएको फाइवर सेवा गाईघाटबाट रसुवाघाट हुँदै दिक्तेल ल्याइएको टेलिकमले जनाएको छ । दिक्तेल बजारमा फाइवर सेवा सञ्चालनमा आएसँगै टेलिकमले आफ्ना नयाँ तथा पुराना ग्राहकलाई निःशुल्क डिभाइस (इन्टरनेट, टेलिफोन र टेलिभिजन सञ्चालन गर्न प्रयोग हुने उपकरण) वितरण गरिरहेको छ ।
तामाको तारमार्फत जडित एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएसदेखि बढीमा पाँच एमबिपिएस गतिमा मात्र चल्ने भएकाले फाइवर प्रविधि जडान गरेपछि घटीमा आठ एमबिपिएसदेखि ८० एमबिपिएस गतिमा चल्ने जनाइएको छ । इन्टरनेट सेवा प्रभावकारी नहुँदा हैरानी खेप्दै आएका उपभोक्ता टेलिकमले द्रुतगतिको फाइवर सेवा सञ्चालन गरेपछि हर्षित भएका छन् ।
दिक्तेलमा फाइवर सेवा सञ्चालनमा ल्याएसँगै टेलिकमले शुल्कसमेत निर्धारण गरेको छ । आठ एमबिपिएसको इन्टरनेटका लागि रु ८००, २५ एमबिपिएसका लागि रु दश हजार ५००, ४० एमबिपिएसका लागि रु १५ हजार ३०० र ८० एमबिपिएसका लागि रु २० हजार ५०० शुल्क निर्धारण गरिएको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार २५ एमबिपिएसभन्दा बढी क्षमताको सेवा लिने ग्राहकले आफ्नो मोबाइलमा हरेक दिन ३०० एमबि डाटा प्याक तथा २५० मिनेट टेलिफोन निःशुल्क प्रयोग गर्न पाउनेछन् । सेवा लिन चाहने ग्राहकले जडान खर्च भने रु ५०० का दरले टेलिकमलाई बुझाउनुपर्ने जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा इन्टरनेट सेवा प्रदायक कम्पनीको लापरवाहीले जडान गरिएका इन्टरनेट सेवा प्रभावकारी नहुँदा सेवाग्राही मारमा परेका छन् । सेवाग्राहीलाई बिना झन्जट छिटो सेवा दिने उद्देश्यले अधिकांश स्थानीय तह तथा सरकारी कार्यालयले पेपरलेस (बिना कागजात) इन्टरनेटमार्फत कामसमेत शुरु गरेको छ । तर, इन्टरनेट सेवा प्रभावकारी नहुँदा कार्यालयमा जडान गरिएका कम्प्युटरमा सिस्टम (प्रविधि) नचलेपछि सेवाग्राहीको काम घण्टौँसम्म रोकिने गरेको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा दर्जनबढी इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेट जडान गरिएका छन् । कतिपयले सेवाग्राहीबाट अग्रिम भुक्तानी लिएर बेखबर भने, कतिपयले मासिक रुपमा भुक्तानी लिएर सेवा दिइरहेका छन् ।
इन्टरनेट सेवा प्रभावकारी नहुँदा सबैभन्दा बढी बैङ्क तथा वित्तीय संस्था र जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी मारमा पर्ने गरेका छन् । यससँगै जग्गा पास तथा नामसारी गर्न जिल्ला मालपोत कार्यालय खोटाङ आउने सेवाग्राही पनि उत्तिकै मारमा पर्ने गरेका छन् ।