दिक्तेलमा राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना

Halesi Khabar
0 Shares

खोटाङ, २३ चैत । राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङको कार्यालय बुधबार दिक्तेलमा स्थापना गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषदको गत चैत–१७ गते बसेको बैठकले राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेश समिति सदस्य सुरेश राईलाई नियुक्त गरेपछि बुधबार दिक्तेलमा औपचारिक रुपमा कार्यालय स्थापना गरिएको हो ।

जिल्ला समन्वय समिति खोटाङको कार्यालयमा रहनेगरी स्थापना गरिएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिको कार्यालय नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य समिता कार्की ‘अस्मिता’ले औपचारिक रुपमा उद्घाटन गर्नुभयो । सत्ता गठबन्धन राजनीकि दलका नेताहरुको उपस्थितिमा कार्यालय स्थापनासँगै राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष राईले पदभारसमेत सम्हाल्नुभएको छ ।

जिल्लामा कोही पनि भूमिहीन नहुन् भन्ने लक्ष्यकासाथ वार्षिक कार्ययोजना बनाएर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या हल गरिने समितिका नवनियुक्त अध्यक्ष राईले बताउनुभएको छ । “भूमिहीनलाई जग्गा उपलब्ध गराउन जिल्लास्थित दशवटै स्थानीय तहसँग केही दिनभित्रै औपचारिक सम्झौता गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “नेपाल सरकारले लागू गरेको राष्ट्रिय कार्यक्रमलाई सफल बनाउन जिल्लास्थित सबै राजनीतिक दल, स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकाय लगायतलाई अनुरोध गरेका छौँ ।”

राष्ट्रिय भूमि आयोग जिल्ला समिति नौँ सदस्यीय रहने व्यवस्था रहेको छ । राष्ट्रिय भूमि आयोगले जिल्लाका करिब पाँच ५०० भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने लक्ष्य राखेको जनाइएको छ ।

जिल्लाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई आवासका लागि प्रतिपरिवार ३४० वर्गमिटर र कृषिका लागि तीन हजार वर्गमिटर जग्गा व्यवस्था गर्नुपर्ने प्रावधान छ । अव्यवस्थित बसोबासीलाई आवासका लागि प्रतिपरिवार एक हजार वर्गमिटर र कृषि प्रयोजनका लागि दश हजार वर्गमिटर जग्गा उपलब्ध गराइने समितिका सदस्य सचिव एवम् जिल्ला नापी कार्यालयका नापी अधिकृत मदन खत्रीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया