खोटाङ, २७ चैत । रामनवमीको अवसरमा विश्वप्रसिद्ध त्रिधार्मिक धाम खोटाङको हलेसीमा लागेको मेलामा पूजाआजा गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकको बाक्लो भीड लागेको छ । हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसीमा रामनवमीको अवसरमा पारेर १५ दिन मेला लाग्ने गरेको छ ।
हप्ता दिनअघिदेखि शुरु भएको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भुटान, बङ्गलादेश, दक्षिण कोरिया लगायत राष्ट्रबाट आएका हजारौँ दर्शनार्थीको सहभागिता रहेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिनुभयो । “रामनवमी मेला भर्न आएका दर्शनार्थी तथा भक्तजनले हलेसी मन्दिर आसपासका होटल तथा रेष्टुरेन्टहरु भरिभराउ भएका छन्”, उहाँले भन्नुभयो, “आगामी दिनमा दर्शनार्थी तथा भक्तजनको सुविधाका लागि सुविधा सम्पन्न धर्मशाला निर्माण गरेर राख्ने योजना बनाइएको छ ।”
नेपाल आयल निगमको सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमबाट निर्माण हलेसीमा धर्मशाला निर्माणको काम भइरहेको छ । पार्किङस्थलसहितको धर्मशाला निर्माण सम्पन्न भएपछि हलेसी आउने सर्वसाधारणदेखि उच्च तहका व्यक्तिसमेत सोही धर्मशालामा राखिने हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राईले बताउनुभएको छ ।
अधिकांश दर्शनार्थीले आफ्नै सवारीसाधन ल्याउने गरेका कारण हलेसी आसपास पार्किङ गर्ने ठाउँसमेत पाउन गाह्रो भएको प्रत्यक्षदर्शीले बताएका छन् । राजधानी काठमाडौँ लगायत तराईका विभिन्न जिल्ला जोड्ने मध्यपहाडी लोकमार्गमै हलेसी पर्ने तथा उक्त सडक खण्ड कालोपत्र गरिएका कारण पनि अधिकांश दर्शनार्थी तथा भक्तजन आफैले सवारीसाधन लिएर हलेसी आउने गरेका हुन् ।
हलेसीमा लाग्ने १५ दिने मेला अवधिभर अप्रिय घटना हुन नदिन तथा मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मीको टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङका सूचना अधिकारी विकल श्रेष्ठले बताउनुभयो । “हलेसीमा लागेको मेलालाई व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “मेलामा हुन सक्ने अप्रिय घटनालाई न्यूनीकरण गर्न तथा पूजाआजा गर्ने स्थानमा हुने अव्यवस्थित भीडभाडलाई व्यवस्थित गर्न जिल्लाबाट सुरक्षाकर्मी परिचालन गरिएको हो ।”
प्राकृतिकरुपले समेत विश्व प्रसिद्ध त्रिधार्मिक धाम हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । चट्टानै चट्टानले बनेको हलेसी मन्दिर आसपास महादेव गुफा, बसाहा गुफा, शिवपार्वती थान, भैरव गुफा, धर्मद्धार, पापद्धार, स्वर्गद्धार जस्ता विभिन्न द्धारहरू रहेका छन् ।
प्राकृतिक भू–बनोटको हिसाबले पनि विश्वकै नमूना मानिने खोटाङको हलेसीस्थित बसाहा गुफा महादेव गुफाको ठीक पछाडिपट्टी पर्दछ । घना जङ्गलको बीचमा अवस्थित बसाहा गुफाको करीब ५० मिटरभित्र छिरेपछि देखिने आकाशको दृष्य प्राकृतिक सौन्दर्यको अनुमप उपहार जस्तो देखिन्छ ।
हलेसीमा रामनवमी, शिवरात्री, बालाचर्तुदशी, हरितालिका तिज, बोलबम लगायतमा ठूलो मेला लाग्ने गरेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशीस्थित हर्कपुर र दूधकोशीस्थित जयरामघाटमा मोटरेबल पक्की पुल बनेसँगै तराईसँगको सिधा यातायात जोडिएपछि हलेसीमा अन्य समयमा पनि उत्तिकै मात्रामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।
पछिल्लो समय हलेसीमा दर्शनार्थी तथा भक्तजनको बाल्लो भीड लाग्न थालेपछि आपराधिक घटना हुन नदिन सिसी क्यामेरा जडान गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका र इलाका प्रहरी कार्यालयको निगरानीमा रहनेगरी हलेसी बजार आसपास तथा मन्दिर परिसरमा सिसी क्यामेर जडान गरिएको हो ।
यसैबीच, रामनवमीको अवसरमा आज जिल्लाको धार्मिक तथा पर्यटकीयस्थलहरु बराहपोखरी, ट्याम्के, दिक्तेलको मझुवागढी, रुपाकोट, मैयुङ लगायत ठाउँहरुमा समेत ठूलो मेला लागेको छ । त्रिधार्मिक धाम हलेसी बाहेक अन्य ठाउँमा एक दिनमात्र मेला लाग्ने गरेको स्थानीयवासीले बताएका छन् ।
पछिल्लो समय रामनवमीको अवसर पारेर जिल्लाका पर्यटकीयस्थलहरुमा घुम्न तथा वनभोज खान जाने आन्तरिक पर्यटकको सङ्ख्यासमेत उत्तिकैमात्रामा वृद्धि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बगरेभञ्ज्याङको पेन टावर, लेखगाउँको काङ्साहोप ताल, खोटेहाङ गाउँपालिकाको कपासेभञ्ज्याङ, साकेला गाउँपालिकाको तावाभञ्ज्याङ लगायतका ठाउँहरुमा आज आन्तरिक पर्यटकको भीड लागेको छ ।