खोटाङ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको हलेसी मन्दिर र मारातिका गुम्बामा चढाएको चार लाख भेटी हस्तान्तरण गरिएको छ । चैत १९ मा दिक्तेलको माटिकोरेमा नेकपा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुअघि हलेसी मन्दिर प्राङगणमा अध्यक्ष ओलीले भेटी चढाउने घोषणा गरे अनुसार हलेसी मन्दिरमा दुई लाख र मारातिका गुम्बामा दुई लाख भेटी हस्तान्तरण गरिएको हो ।
अध्यक्ष ओलीले पठाएको भेटी रकम रामनवमीको अवसरमा आइतबार एमाले केन्द्रीय सदस्य एवं खोटाङ सह–इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य रमेशकुमार पौडेल र एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले हलेसी महादेव विकास समितिका अध्यक्ष हर्कराज राई र हलेसी मारतिका गुम्बा व्यावस्थापन समितिका अध्यक्ष डोमा लामालाई हस्तान्तरण गरेका छन् ।
अध्यक्ष ओलीले पठाएको भेटी एमाले जिल्ला कमिटी खोटाङले आयोजना गरेको औपचारिक कार्यक्रमका बीच मन्दिर र गुम्बालाई हस्तान्तरण गरिएको हो । मारातिका गुम्बामा अध्ययनरत विद्यार्थीको पठन–पाठन साथै प्रोत्साहनका लागि अध्यक्ष ओलीले दुई लाख पठाएको एमाले केन्द्रीय सदस्य राईले बताउनु भयो ।
भेटी हस्तान्तरण कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य खडेन्द्र राई, जिल्ला सचिव कुमारप्रसाद आचार्य, उप–सचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राई, हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मरबहादुर भुजेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर कमिटी अध्यक्ष गोपालचन्द्र आचार्य, एमाले हलेसी तुवाचुङ नगर कमिटी अध्यक्ष डिल्ली चाम्लिङ राई, हलेसी महादेव मन्दिर व्यावस्थापन समितिका पूर्वअध्यक्ष गजुरमान राई लगायतको उपस्थिति रहेको थियो ।