सञ्चारमाध्यम तथा सञ्चारकर्मीको अनुगमन गर्न समिति गठन

Halesi Khabar
0 Shares

खोटाङ, ४ वैशाख । नेपाल सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ सम्पन्न गर्नेगरी तोकेको स्थानीय तहका निर्वाचन केन्द्रीत हुँदै खोटाङमा सञ्चार गृह तथा सञ्चारकर्मीको अनुगमन गर्न समिति गठन गरिएको छ । निर्वाचनको अवधिमा पत्रकार आचार संहिता उल्लङ्घन हुने सम्भावनालाई मध्यनजर गर्दै न्यूनीकरण गर्न अग्रज पत्रकार कृष्ण आचार्यको नेतृत्वमा अनुगमन समिति गठन गरिएको हो ।

तीन सदस्यीय अनुगमन समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घ खोटाङका पूर्व अध्यक्षद्धय डम्बरसिं राई र दमन राई रहनुभएको छ । मर्यादित ढङ्गले समाचार लगायतका सञ्चार सामग्री सङ्कलन तथा प्रकाशन÷प्रशारण गरे÷नगरेको अनुगमन गर्न र पत्रकार आचार संहिता पालना गराउन अनुगमन समिति गठन गरिएको पत्रकार महासङ्घ खोटाङका अध्यक्ष दिलीप खत्रीले बताउनुभयो ।

पत्रकार महासङ्घ जिल्ला खोटाङको कार्यालय दिक्तेलबजारमा आइतबार जिल्लामा क्रियाशील पत्रकारहरुको भेलाले सन्तुलित समाचार तथा सामग्रीहरु प्रकाशन तथा प्रशारणमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ । आगामी निर्वाचनलाई स्वस्थ, मर्यादित, धाँदलीरहित बनाउन सञ्चार माध्यम र सञ्चारकर्मीहरुको भूमिका निष्पक्ष बन्नुपर्ने छलफलको निष्कर्ष छ ।

यस्तै, सामाजिक सञ्जालमा कसैको बिरोध जनाउने, खण्डन गर्ने, एकअर्कामा द्वेषभाव सिर्जना गर्ने जस्ता कार्य नगर्ने जिल्लाका सञ्चारकर्मीहरुको प्रतिबद्धता जनाएका छन् । जिम्मेवार सञ्चारकर्मीले सामाजिक सञ्जालमा बाद–प्रतिबाद गर्न अशोभनिय र गैरजिम्मेवार कार्य भएको भेलाले ठहर गरेको छ ।

पछिल्लो समय जिल्लामा क्रियाशील केही पत्रकारहरुबीच आरोप÷प्रत्यारोप शुरु भएको थियो । राजनीतिक दलको भातृ सङ्गठनमा आवद्ध केही पत्रकारहरु फरक राजनीतिक आस्थाको आधारमा आरोप÷प्रत्यारोप गर्दै आएका थिए ।

आगामी दिनमा उक्त क्रियाकलाप नगर्न आग्रह गरिएको अनुगमन समितिका संयोजक एवम् अग्रज पत्रकार आचार्यले बताउनुभयो । समाचार लेख्दा कम्तिमा पत्रकार आचार संहिता पालना गर्न संयोजक आचार्यले छलफलमा सहभागी पत्रकार तथा सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया