स्थानीय तहमा सत्ता गठबन्धन : छ पालिकामा चार र चारमा तीन दलको तालमेल

Halesi Khabar
0 Shares

खोटाङ, ५ वैशाख । नेपाल सरकारले आगामी वैशाख–३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच सत्ता गठबन्धनलाई कायम राख्दै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति भएको हो ।

गत चैत–१६ गतेदेखि शुरु भएको सत्ता गठबन्धनमा सहभागी चार दलको बैठकले वैशाख– ३० गते हुने निर्वाचनमा तालमेल गर्ने सहमति जुटाएको नेपाली काँग्रेस खोटाङका सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो । दुई नगरपालिका र आठ गाउँपालिका गरी दश स्थानीय तह रहेको जिल्लामा चार पालिकामा काँग्रेस बाहेक र छ पालिकामा काँग्रेससहित चार दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ ।

हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित काँग्रेस एक्लै लड्दा अरू तीन दल (माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी)ले एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ । हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्ने सहमति जनता समाजवादी खोटाङका अध्यक्ष टङ्क थापाले जानकारी दिनुभयो ।

साकेला गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र जसपाका उपप्रमुख, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका प्रमुख र जसपाका उपप्रमुखलाई एकअर्काले सहयोग गर्ने सहमति भएको छ । बाँकी छ पालिकामा भने काँग्रेससहित चार दलीय गठबन्धन बनेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज समिता कार्की ‘अस्मिता’ले जानकारी दिनुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी, ऐसेलुुखर्क, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकामा भने चार दलबीच नै गठबन्धन गर्ने सहमति भएको माओवादी केन्द्र खोटाङका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले जानकारी दिनुभयो । यीमध्ये तीनमा काँग्रेस र तीनमा माओवादीले प्रमुखको उम्मेदवार पाउनेछन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा काँग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, बराहपोखरी गाउँपालिकामा काँग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐसेलुखर्क र जन्तेढुङ्गा गाउँपालिकामा माओवादीलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख र खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पदको उम्मेदवार दिने गठबन्धन दलले सहमति गरेका छन् । पालिकामा तालमेल र भागबण्डाको विषय टुङ्गिए लगत्तै कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने छलफल केन्द्रित भएको स्रोतले जनाएको छ ।

दश स्थानीय तहका ७९ वडाहरूमा भने तालमेल र भागबण्डाको विषय छलफलकै क्रममा रहेको जनाइएको छ । वडागत तालमेलको विषय पनि भोलिभित्र टुङ्गो लगाइसक्नेगरी सत्ता गठबन्धनको छलफल भइरहेको एकीकृत समाजवादी खोटाङका जिल्ला अध्यक्ष जलशेर राईले जानकारी दिनुभयो ।

वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पाँच, काँग्रेसले चार र माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएको थियो । यस वर्षको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएपछि अधिकांशमा गठबन्धनका उम्मेदवार विजयी हुने अनुमान गरिएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी स्थानीय तहमा जित हात पारेको एमाले खोटाङ अहिले सत्ता गठबन्धनको निर्णय पर्खेर बसेको छ । एमाले खोटाङले पालिका तथा वडामा उम्मेदवारको टुङ्गो लगाउन पोलिट ब्यूरो सदस्य एवम् जिल्ला इन्चार्ज विशाल भट्टराईको संयोकत्वमा १३ सदस्यीय कार्यदल गठन भएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिनुभएको छ ।

एमाले स्रोतका अनुसार वडास्तरीय उम्मेदवारको टुङ्गो लागिसकेको छ भने, पालिकास्तरमा गठबन्धनको उम्मेदवार हेरेर चयन गर्ने जनाइएको छ । समाचार स्रोतका अनुसार पालिका तथा वडास्तरका उम्मेदवारको नामावली तयार भइसकेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया