खोटाङ, ८ वैशाख । सरकारले आगामी वैशाख–३० गते देशभर एकैसाथ गर्न लागेको स्थानीय तहको निर्वाचनलाई सफल बनाउन खोटाङमा एउटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नौँवटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । दिक्तेल बजारस्थित जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा नौँवटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बिहीबार एकैसाथ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख राजेश गौतमले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएसँगै जिल्लाका दशवटै स्थानीय तहमा आवश्यक कर्मचारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोग तथा म्यादी प्रहरी परिचालन गरिएको जनाइएको छ ।
जिल्लामा हुने निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गरेर सुरक्षा व्यवस्था कडाइ गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । १३६ मतदानस्थल र १९४ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्लामा ३५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ४३ वटा मतदान केन्द्र सामान्यमा राखिएको छ ।
सुरक्षा संयन्त्रको पहुँच, बिगतमा भएका घटना र भौगोलिक बिकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरेर शान्ति÷सुरक्षाको व्यवस्था मिलाउने तयारी गरिएको सुरक्षा समितिका संयोजक एवम् प्रजिअ दाहालले जानकारी दिनुभएको छ । निर्वाचनलाई धाँदलीरहित तथा मर्यादित बनाउन निर्वाचनमा भाग लिएका जल्लास्थित सबै राजनीतिक दलले प्रतिवद्धता जनाएका छन् ।
निर्वाचन आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतका जेष्ठतम् न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । त्यसैगरी आयोगले जिल्लाका अन्य स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरू र निजामती सेवाका उपसचिवहरू रहने गरी निर्वाचन अधिकृत तोकेको छ ।
दिक्तेलमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला अदालत खोटाङमा कार्यरत जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यलाई जिम्मेवारी तोकिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाका लागि जिल्ला सरकारी वकिल कार्यालय खोटाङका जिल्ला न्यायधिवक्ता सँगीता न्यौपाने (ढुङ्गेल)लाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको निर्वाचन कार्यालयले जनाएको छ ।
खोटेहाङ गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गेहेन्द्रराज रेग्मी, जन्तेढुङ्गा गाउँपालिकामा महालेखा नियन्त्रक कार्यालय काठमाडौँका उपसचिव मानबहादुर मगर, बराहपोखरी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ विराटनगरका उपसचिव कोपिला राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत गम्भिर घिमिरे, साकेला गाउँपालिकाका लागि नेपाल कानून आयोगका उपसचिव राजन नेपाललाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । त्यस्तै, ऐसेलुखर्क गाउँपालिकामा जिल्ला अदालत खोटाङका श्रेष्तेदार रामाकान्त यादव, केपिलासगढी गाउँपालिकामा इलाका प्रशासन कार्यालय साँखु काठमाडौँका उपसचिव राजकुमार राई, रावाबेसी गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत लालबहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
खोटाङमा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलहरुबीच चुनावी तालमेल भएको छ भने, प्रमुख प्रतिपक्षी नेकपा एमाले एक्लै लड्ने तयारी भइरहेको छ । सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल तथा प्रतिपक्षी दल एमाले कसैले पनि अहिलेसम्म उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।
आगामी निर्वाचनमा एक लाख ४३ हजार ७५२ जनाले मतदान गर्न पाउने भएका छन् । महिला ६८ हजार ७४६ र पुरुष ७५ हजार ६०० जना मतदाताले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।