खोटाङ, १० वैशाख । नेकपा (एमाले) खोटाङले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दश स्थानीय तहमध्ये पाँच पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सर्वसहमत छनोटगरी प्रदेशमा सिफारिस गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबै उम्मेदवार सर्वसहमत छनोट गर्ने प्रयासस्वरुप बसेको कार्यदलको बैठकले पाँचवटा पालिकाको प्रमुख र उपप्रमुखको नाम टुङ्ग्याएको हो ।
एमाले पोलिट ब्यूरो सदस्य एवम् जिल्ला इन्चार्ज विशाल भट्टराईको संयोजकत्वमा गठित उम्मेदवार छनोट कार्यदलले अन्य चार पालिकाको प्रमुख टुङ्ग्याएको छ भने, एउटामा दुईजनाको नाम सिफारिस गरेको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह साकेला गाउँपालिको प्रमुखमा आस्मिनचन्द्र राई ‘बद्री’ र गोपीकृष्ण खड्काको नाम सिफारिस भएको एमाले सचिव कुमार आचार्यले जानकारी दिनुभयो ।
जिल्लाको सबैभन्दा ठुलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमार आचार्य र उपप्रमुखमा विणादेवी राईको नाम सिफारिस भएको छ । नगर प्रमुखको उम्मेदवारमा सिफारिस हुनुभएका आचार्य एमाले खोटाङका सचिव हुनुहुन्छ भने, उपप्रमुखमा सिफारिस हुनुभएका राई पुनः दोहोरिनुभएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साम्पाङ राईको नाम सिफारिस गरेको छ । उपप्रमुख भने खाली राखेको छ । साम्पाङ अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी बन्नुभएका नगरप्रमुख इवन राईसँग पराजित हुनुभएको थियो ।
ऐसेलुखर्क गाउँपालिको प्रमुखमा गिरेन्द्रबहादुर राई र उपप्रमुखमा पुष्पकला भुजेलको नाम सिफारिस भएको छ । गाउँपालिका प्रमुखमा सिफारिस हुनुभएका राई नयाँ अनुहार हो भने, भुजेल पुनः दोहोरिनुभएको हो ।
केपिलासगढी गाउँपालिकाको प्रमुखमा कृष्णकुमार राईको नाम सिफारिस भएको छ भने, उपप्रमुख खाली राखिएको छ । प्रमुखको उम्मेदवारमा सिफारिस हुनुभएका राई पुनः दोहोरिनुभएको हो ।
रावाबँेसी गाउँपालिको प्रमुखमा हरिकुमार पोखरेल र उपप्रमुखमा कौशिला गुरुङको नाम सिफारिस भएको छ । पोखरेल अघिल्लो निर्वाचनमा वडा नं. २ खार्पाबाट सदस्यमा पराजित हुनुभएको थियो भने, गुरुङ नयाँ अनुहार हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा लोकेन्द्र राईको नाम सिफारिस गरिएको छ भने, उपप्रमुख खाली राखिएको छ । राई अघिल्लो निर्वाचनमा वडा नं. ४ बतासेबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
खोटेहाङ गाउँपालिकाको प्रमुखमा कविता राई र उपप्रमुखमा राजनकुमार बञ्जराको नाम सिफारिस भएको छ । प्रमुखमा सिफारिस हुनुभएका राई अघिल्लो निर्वाचनमा उपप्रमुख निर्वाचित हुनुभएको थियो भने, बञ्जरा नयाँ अनुहार हो ।
जन्तेढुङ्गा गाउँपालिकाको प्रमुखमा शंखरबहादुर राई र उपप्रमुखमा विमला राईको नाम सिफारिस भएको छ । जन्तेढुङ्गामा प्रमुख र उपप्रमुख दुवैजना दोहोरिनुभएको हो ।
बराहपोखरी गाउँपालिकाको प्रमुखमा गोमा मगरको नाम सिफारिस भएको छ भने, उपप्रमुख खाली राखिएको छ । प्रमुखमा सिफारिस हुनुभएका मगर अघिल्लो निर्वाचनमा एमालेबाटै उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।
केही पालिकामा खाली राखिएका उपप्रमुखको नाम आजै बेलुकासम्ममा टुङ्गो लगाइने एमाले खोटाङले जनाएको छ । खाली राखिएको ठाउँमा अन्य पार्टीबाट प्रवेश गर्ने व्यक्तिलाई प्राथमिकता दिनेगरी छलफल चलिरहेको सचिव आचार्यले बताउनुभयो ।
अघिल्लो निर्वाचनमा पाँचवटा स्थानीय तहमा विजयी हाँसिल गरेको एमालेले वडाध्यक्ष तथा सदस्यहरुको नामसमेत सर्वसहमत टुङ्ग्याएको छ । यद्यपि, उम्मेदवार छनोटमा केही स्थानीय तहमा असन्तुष्टीहरु भने रहेको पाइएको छ ।
उता, चुनावी तालमेल गरेको सत्ता गठबन्धनमा आवद्ध दलहरुले भने अहिलेसम्म उम्मेदवारको नाम टुङ्ग्याउन सकेको छैन । केन्द्रीय निर्देशन अनुसार जिल्लामा समेत तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलमा आकाङ्क्षी बढी भएपछि उम्मेदवार छनोटमा सकस भएको छ ।
दश स्थानीय तहमध्ये छवटामा काँग्रेससहित चार दल र चारवटामा काँग्रेस बाहेक नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच चुनावी तालमेल भएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरु चुनावी तालमेल हुने भएपछि हौसिएका छन् भने, एमाले एक्लै जित हात पार्ने कसरतमा छ ।