खोटाङ, ११ बैसाख । नेकपा एमाले खोटाङले जिल्लाका दशवटै स्थानीय तहका लागि प्रमुख र उपप्रमुखको उम्मेदवाार टुङ्ग्याएको छ । एमाले जिल्ला कमिटिको सिफारिसमा प्रदेश कमिटिले आइतबार दुई नगरपालिका र आठ गाउँपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको हो ।
जिल्लाको सबैभन्दा ठुलो तथा सबैको नजर पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमार आचार्य, उपप्रमुखमा विणादेबी राई र राजकुमारी राईमध्ये एकलाई उम्मेदवारबनाउने निर्णय गरिएको छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र राई र उपप्रमुखमा तुलसा बुढाथोकीलाई अघि सारिएको छ ।
यस्तै, साकेला गाउँपालिका प्रमुखमा गोपीकृष्ण खड्का र उपप्रमुखमा दिलकुमारी राई, बराहपोखरी गाउँपालिका प्रमुखमागोमा मगर र उपप्रमुखमा जीवनकुमार राई, रावाबेँसी गाउँपालिका प्रमुखमाहरि पोखरेल र उपप्रमुखमा कौशिला गुरुङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुखमा लोकेन्द्र राई र उपप्रमुखमा अरुण थापा मगर, जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा शंखरबहादुर राई, उपप्रमुखमा बिमला राई, खोटेहाङ गाउँपालिका प्रमुखमा कविता राई र उपप्रमुखमा राजन बञ्जरा, केपिलासगढी गाउँपालिका प्रमुखमा कृष्णकुमार राई र उपप्रमुखमा उमा गुरुङ, ऐसेलुखर्क गाउँपालिका प्रमुखमा गृहेन्द्रबहादुर राई र उपप्रमुखमा पुष्पकला भुजेललाई उम्मेदवार बनाउने टुङ्गो लगाइएको एमालेले जनाएको छ ।
एमालेले दुई स्थानीय तहमा महिलालाई प्रमुखमा अघि सारेको देखिएको छ । २०७४ सालको स्थानीय तहको चुनावमा खोटेहाङ गाउँपालिका उपप्रमुखमा निर्वाचित भएकी कविता राई र बराहपोखरी गाउँपालिका उपप्रमुखमा निर्वाचित गोमा मगर यसपल्ट प्रमुखका उम्मेदवार बनाएको हो ।
२०७४ सालकै निर्वाचनमा केपिलासगढी गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएका कृष्णकुमार राई, जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा निर्वाचित शंखरबहादुर राई, उपप्रमुखमा निर्वाचित विमला राई तथा ऐसेलुखर्क गाउँपालिका उपप्रमुखमा चुनिनुभएकी पुष्पकला भुजेलले पुनः दोस्रो कार्यकालका लागि यथास्थानमा चुनाव लड्ने मौका पाउनुभएको छ ।
२०७४ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा निर्वाचित दीपनारायण रिजाल, खोटेहाङ गाउँपालिका प्रमुखमा निर्वाचित प्रदीप राई, रावाबेँसी गाउँपालिका प्रमुखमा निर्वाचित लीलानाथ निरौला, रावाबेँसी गाउँपालिकाकै उपप्रमुखमा निर्वाचित समला राई र केपिलासगढी गाउँपालिका उपप्रमुखमा निर्वाचित हिरादेबी वन चुनावी प्रतिष्पर्धाबाट बाहिरिनुभएको छ ।
एमालेले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपप्रमुखमा भने दुई जनाको नाम सिफारिस गरेको छ । यसअघि उपप्रमुखमा निर्वाचित विणादेबी राई दोस्रो कार्यकालका लागि सोही पदमा सिफारिस हुनुभएको हो ।
यद्यपि, उपप्रमुखमा सिफारिस गरिएकोप्रति विणादेवीको चर्को असन्तुष्टि देखिएको छ । प्रमुखमा दाबी गर्दै आउनुभएकी उहाँले सामाजिक सञ्जालमै उपप्रमुखमा नउठ्ने भनिरहनुभएको छ ।