खोटाङ, ११ वैशाख । मनोनयन दर्ताको पहिलो दिन जिल्लाका कुनै पनि ठूला राजनीतिक दलले उम्मेदवारी दर्ता गराउन सकेनन् । प्रमुख, उपप्रमुख तथा कतिपय वडाकै उम्मेदवार टुङ्ग्याउन नसकेका कारण मनोनयन दर्ताको पहिलो दिन सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) तथा एमालेले उम्मेदवारी दर्ता गराउन नसकेका हुन् ।
आगामी वैशाख ३० गते देशभर हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन र एमालेले उम्मेदवार टुङ्ग्याएर भोलि (सोमबार) साँझ ५ बजेसम्ममा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । पहिलो दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), खम्बुवान राष्ट्रिय मोर्चा र मङ्गोल नेशनल अर्गनाइजेसनले केही स्थानीय तहमा प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
केही वडामा एमाले र माओवादी केन्द्रका उम्मेदवारले पनि वडाध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी राजेश गौतमले बताउनुभयो । जिल्लाका विभिन्न स्थानीय तहमा वडाध्यक्षमा आइतबार तीन जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
जिल्लाकै ठूलो स्थानीय तह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा खम्बुवान राष्ट्रिय मोर्चाको उम्मेदवारी दर्ता भएको छ । हलेसी तुवाचुङ नगरपालिकामा मङ्गोल नेशनल अर्गनाइजेसनले प्रमुखमा मनोनयन दर्ता गराएको छ ।
मङ्गोल नेशनल अर्गनाइजेसनले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा वडाध्यक्षको उम्मेदवारी दिएका छन् । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, ऐसेलुखर्क गाउँपालिकामा राप्रपाले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा माओवादी केन्द्रले वडाध्यक्षसहित चार सदस्यमा उम्मदवारी दर्ता गराएको छ ।
ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी र ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीमा राप्रपाले वडाध्यक्षसहितमा मनोनयन दर्ता गराएको जनाएको छ । यस्तै, केपिलासगढी गाउँपालिका–१ फेदी, केपिलासगढी गाउँपालिका–३ बास्पानी र केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमा एमालेले वडाध्यक्षसहित सबै पदमा उम्मेदवारी दर्ता गराएको छ ।
बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको छ । फाक्टाङमै राप्रपाले एक वडा सदस्य र एक महिला सदस्यमा उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।
रावाबेँसी गाउँपालिका–२ खार्पामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा जसपाले वडाध्यक्ष र एक सदस्यमा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, साकेला गाउँपालिका–२ रतन्छा र साकेला गाउँपालिका–५ मात्तिममा राप्रपाको वडाध्यक्षमा उम्मेदवारी परेको छ । मात्तिममा राप्रपाको दुई वडा सदस्यको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा आगामी निर्वाचनमा एक लाख ४३ हजार ७५२ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । महिला ६८ हजार ७४६ र पुरुष ७५ हजार ६०० जना मतदाताले मतदानमा भाग लिन पाउने निर्वाचन कार्यालयले जनाएको छ ।