काँग्रेसले दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुखको टिकट दुईजनालाई दिएपछि…

Halesi Khabar
0 Shares

खोटाङ, १३ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका दुई जना नेताको उम्मेदवारी दर्ता भएको छ । काँग्रेसको १ नं. प्रदेश समितिले दिएको टिकटको आधारमा धर्मराज पोखरेल र केन्द्रीय कार्यसमितिले दिएको टिकटको आधारमा तीर्थराज भट्टराईको उम्मेदवारी दर्ता भएको हो ।

पोखरेल सोमबार दिउसो करिब ४ बजे प्रदेश समितिले दिएको टिकट लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमा उम्मेदवारी दर्ता गर्न पुगेको केही समयपछि भट्टराई केन्द्रीय समितिले दिएको टिकट लिएर उम्मेदवारी दर्ता गर्न कार्यालय पुग्नुभएको थियो । पोखरेल र भट्टराई दुवै जनाले आफू आधिकारिक उम्मेदवार रहेको दाबी गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आ–आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

काँग्रेस प्रदेश समितिका सभापति उद्धव थापाको हस्ताक्षरमा पोखरेललाई उम्मेदवारका नाम मनोनयन गरिएको र केन्द्रीय सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा भट्टराईलाई आधिकारिक उम्मेदवार भएको उल्लेख गरेर टिकट दिएको पाइएको छ । पोखरेललाई दिइएको टिकटमा चलानी नम्बर उल्लेख नगरी जिल्ला पार्टी सभापतिलाई सम्बोधन गरिएको छ भने भट्टराईलाई दिइएको टिकटमा चलानी नं. ३३६ उल्लेख गरेर निर्वाचन अधिकृतलाई सम्बोधन गरिएको छ ।

पोखरेलले प्रदेशबाट प्रमुखको टिकट पाएको थाहा पाएपछि भट्टराई पक्षका नेता तथा कार्यकर्ताले सोमबार बिहान करिब तीन घण्टा काँग्रेस पार्टी कार्यालयमा घेराउ गर्दै ताला लगाएका थिए । तर, पोखरेलको ठाउँमा भट्टराईले नै टिकट पाउने आश्वासनपछि असन्तुष्ट पक्षले ताला खोलेका थिए ।

प्रदेशबाट पोखरेलले टिकट पाएको खबर सार्वजनिक भएपछि काँग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका सभापति प्रकाश श्रेष्ठ नेतृत्वको टोली विरोध गर्दै पार्टी कार्यालयमा ताला लगाउन पुगेका थिए । प्रदेशबाट प्रमुखको टिकट पाएपछि पोखरेल हेलिकोप्टर चढेर उम्मेदवारी दर्ता गर्न करिब ३ बजे दिक्तेल ओर्लनुभएको थियो ।

हेलिकोप्टरबाट दिक्तेल ओर्लने बित्तिकै असन्तुष्ट पक्षले पोखरेलमाथि हातपात गरेपछि सुरक्षाकर्मीले आक्रमणबाट जोगाएर काँग्रेस पार्टी कार्यालयमा पु¥याएको थियो । केही घण्टा पार्टी कार्यालयमा बस्नुभएका पोखरेल सुरक्षाकर्मीसहित उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत पुग्नुभएको थियो ।

पोखरेल अदालतको गेट (प्रवेशद्धार)बाटभित्र पस्ने बित्तिकै एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका कुमार आचार्य लगायतका नेताहरुले स्वागत गरेका थिए । गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेलका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख काँग्रेस र उपप्रमुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ ।

काँग्रेसमा टिकटको लफडा भइरहँदा गठबन्धनको तर्फबाट उपप्रमुखमा माओवादी केन्द्रका बिसन राईको उम्मेदवारी दर्ता भएको छ । चार दलबीच चुनावी तालमेल भएको यस नगरपालिकामा टिकट लिने सन्दर्भमा काँग्रेसभित्र चलेको शक्ति सङ्घर्षको असर गठबन्धनभित्र पर्ने एमालेले आँकलन गरेको छ ।

काँग्रेसभित्र आन्तरिक कलह देखिएपछि माओवादी केन्द्रका तर्फबाट केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले प्रमुखमा र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट भागवत घिमिरेले उपप्रमुखमा उम्मेदवारी दिनुभएको छ । काँग्रेसको आन्तरिक कहल समाधान नभएमा तीन दल (माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल)बीच चुनावी तालमेल गर्ने योजनासमेत बनेको छ ।

उद्यपि, काँग्रेसको विवाद टुङ्गिएर चार दलीय गठबन्धन कायम राखेर चुनावमा जाने सहमति कार्यान्वयन भएको खण्डमा राई र घिमिरेको उम्मेदवारी फिर्ता हुने माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डे ‘आकाश’ले बताउनुभएको छ । काँग्रेसको तर्फबाट दुईजनाको उम्मेदवारी परेको विषयमा छानविन गरेर अन्तिम टुङ्गो लगाउने तयारी भइरहेको जिल्ला न्यायाधीशसमेत रहनुभएका मुख्य निर्वाचन अधिकृत मात्रिकाप्रसाद आचार्यले जानकारी दिनुभएको छ ।

पन्ध्र वडा रहेको यस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा एकजना स्वतन्त्रसहित आठ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट कुमार आचार्य, जनता समाजवादीबाट सुर्यबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट जीवनकुमार श्रेष्ठ, खम्बुवान राष्ट्रिय मोर्चाबाट सुवाश राई र माओवादी केन्द्रका विकास राईले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा उम्मेदवारी दर्ता गर्नेक्रममा छिटफुट बाहेक अप्रिय घटना नभएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो । निर्वाचन सफल बनाउन नेपाली सेना, जनपद, सशस्त्र र म्यादी प्रहरी परिचालन गरिएको छ ।

 

तपाईको प्रतिक्रिया