दश स्थानीय तहका ४१५ पदमा एक हजार ३२८ जनाको उम्मेदवारी दर्ता

Halesi Khabar
0 Shares

खोटाङ, १३ वैशाख । यहि वैशाख ३० गते देशभर एकैसाथ हुने स्थानीय तहको निर्वाचनका लागि खोटाङमा एक हजार ३२८ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ७९ वडाका वडाध्यक्ष र सदस्यगरी ४१५ पदका लागि एक हजार ३२८ जनाको उम्मेदवारी दर्ता भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा एकजना स्वतन्त्रसहित छ जना तथा उपप्रमुखमा चारजनाको उम्मेदवारी दर्ता भएको छ । पन्ध वडा रहेको यस नगरपालिकामा ७७ पदका लागि २८४ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख राजेश गौतमले जानकारी दिनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा सात र उपप्रमुखमा पाँच जनासहित १८० जनाको उम्मेदवारी दर्ता भएको जनाइएको छ । एघार वडा रहेको यस नगरपालिकामा निर्वाचनबाट ५७ जना जनप्रतिनिधि चयन हुनेछन् ।

जन्तेढुङ्गा गाउँपालिकाको प्रमुखमा चार र उपप्रमुखमा तीन जनासहित ८९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिनुभयो । छ वडा रहेको यस गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित ३२ जना चयन हुनेछन् ।

केपिलासगढी गाउँपालिकाको प्रमुखमा तीन जना र उपप्रमुखमा चारजनासहित १२८ जनाको उम्मेदवारी परेको छ । सात वडा रहेको यस गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित ३७ जना जनप्रतिनिधि चयन हुनेछन् ।

ऐसेलुखर्क गाउँपालिकाको प्रमुखमा दुई स्वतन्त्रसहित छ जना तथा उपप्रमुखमा तीन जनासहित १०८ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत रामाकान्त यादवले जानकारी दिनुभयो । सात वडा रहेको यस गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित ३७ जना जनप्रतिनिधि मतदाताले चयन गर्नेछन् ।

छ वडा रहेको रावाबेँसी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा चार÷चार जनासहित १०८ जनाको उम्मेदवारी दर्ता भएको छ । काँग्रेस–माओवादी केन्द्र तथा जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको यस गाउँपालिकामा ३२ जना जनप्रतिनिधि चयन हुनेछन् ।

नौँ वडा रहेको खोटेहाङ गाउँपालिकाको प्रमुख र उपप्रमुखमा दुई÷दुई जनासहित १११ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेका पोलिट ब्यूरो सदस्य एवम् एमाले संसदीय दलका प्रमुख सचेतक विशाख भट्टराईको घर रहेको उक्त गाउँपालिकामा ४७ जना जनप्रतिनिधि चयन हुनेछन् ।

सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा छ र उपप्रमुखमा चारसहित १३० जनाको उम्मेदवारी दर्ता भएको पाइएको छ । नेपाली काँग्रेसका १ नं. प्रदेश महामन्त्री भूपेन्द्र राईको घर रहेको यस गाउँपालिकामा ३७ जना जनप्रतिनिधि चयन हुनेछन् ।

छ वडा रहेको बराहपोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा तीन÷तीन जनासहित ९५ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट प्रमुख गोमा मगर उम्मेदवार रहेको यस गाउँपालिकामा ३२ जना निर्वाचित हुनेछन् ।

जिल्लाको सबैभन्दा सानो स्थानीय तह साकेला गाउँपालिकाको प्रमुख र उपप्रमुखमा चार÷चार जनासहित वडाध्यक्ष तथा सदस्यमा गरी ९७ जनाको उम्मेदवारी दर्ता भएको छ । पाँचवटा मात्र वडा रहेको यस गाउँपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो ।

जिल्लाका दश स्थानीय तहमध्ये छवटामा चार र चारवटामा तीन दलबीच चुनावी तालमेल भएको छ ंभने, नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच केन्द्रीय गठबन्धनलाई कायम राख्दै जिल्लाका दशवटै स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने चार दलीय सहमति अनुसार उम्मेदवारी दर्ता गराएका छन् ।

हलेसी तुवाचुुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा, केपिलासगढी र साकेला गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित वडास्तरसम्म नै काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । उता सत्ता गठबन्धनमा आवद्ध तीन दल (माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी)ले एकअर्कालाई सहयोग गर्ने सहमति अनुसार साझा उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र उपप्रमुखका उम्मेदवारलाई एकीकृत समाजवादी र जसपाले सहयोग गर्ने सहमति भएको छ । साकेला गाउँपालिकामा माओवादी केन्द्रका प्रमुख र जसपाका उपप्रमुख, केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीका प्रमुख र जसपाका उपप्रमुखलाई माओवादीसहित एकअर्काले सहयोग गर्ने सहमति भएको छ ।

जिल्लाका छवटा पालिकामा भने काँग्रेससहित सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलहरुबीच चुनावी तालमेल भएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् जिल्ला सहइन्चार्ज समिता कार्की ‘अस्मिता’ले जानकारी दिनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेँसी, ऐसेलुुखर्क, खोटेहाङ, बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकामा भने चार दलबीच नै सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेल गरेर उम्मेदवारी दर्ता भएको छ ।

चार दलीय गठबन्धन भएको पालिकामा तीनमा काँग्रेस र तीनमा माओवादी केन्द्रले प्रमुखको उम्मेदवार पाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेँसी गाउँपालिकामा काँग्रेसलाई प्रमुख र माओवादीलाई उपप्रमुख, बराहपोखरी गाउँपालिकामा काँग्रेसलाई प्रमुख र एकीकृत समाजवादीलाई उपप्रमुख, ऐसेलुखर्क र जन्तेढुङ्गा गाउँपालिकामा माओवादीलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख तथा खोटेहाङ गाउँपालिकामा माओवादीलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पदको उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरिएको काँग्रेस सभापति विष्णुकुमार राईले जानकारी दिनुभयो ।

प्रमुख र उपप्रमुखमा मात्र चुनावी तालमेल गरिएको जिल्लाका अधिकाङ्श वडाहरूमा भने आवश्यकताको आधारमा तालमेल र भागबण्डा मिलाइएको जनाइएको छ । प्रमुख र उपप्रमुखमा तालमेल गरिएका अधिकांश पालिकाका वडामा छुट्टाछुट्टै राजनीतिक दलहरुबीच प्रतिस्पर्धा हुने भएकाले प्रमुख र उपप्रमुखका उम्मेदवारलाई सामान्य असर गर्ने अनुमान गरिएको नेताहरुले बताएका छन् ।

वि.सं. २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा एमाले पाँच, काँग्रेस चार र माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएको थियो । यस वर्षको निर्वाचनमा सत्ता गठबन्धनबीच तालमेल गर्ने सहमति भएपछि अधिकांशमा गठबन्धनका उम्मेदवार विजयी हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया