दिक्तेल रुपाकोट मझुवागढीमा भट्टराई काँग्रेसको आधिकारिक उम्मेदवार कायम

Halesi Khabar
0 Shares

खोटाङ, १५ वैशाख । सत्तारुढ चार दलीय गठबन्धनबीच चुनावी तालमेल भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट तीर्थराज भट्टराईको उम्मेदवारी कायम भएको छ । यसअघि काँग्रेसबाट भट्टराई र धर्मराज पोखरेलको मनोनयन दर्ता भएपछि आधिकारिकताको विषयमा अन्योल सिर्जना भएको थियो ।

काँग्रेस प्रदेश समितिले पोखरेललाई र केन्द्रीय समितिले भट्टराईलाई नगर प्रमुखको टिकट दिएपछि ‘को आधिकारिक उम्मेदवार हुन्’ भन्ने विवाद चर्किएको थियो । पोखरेलले बुधबार साँझ पत्रकार सम्मेलन गरेर विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेपछि भट्टराई काँग्रेसबाट एकमात्र उम्मेदवार कायम हुनुभएको हो ।

काँग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि चुनावी गठबन्धन कायम हुने÷नहुनेमा समेत आशङ्का पैदा भएको थियो । सत्ता गठबन्धनमा आवद्ध चार दलीय सहमति अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुख काँग्रेसलाई र उपप्रमुख नेकपा (माओवादी केन्द्र)लाई दिने सहमति भएको थियो ।

सहमति अनुसार माओवादी केन्द्रले विसन राईलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । काँग्रेस र माओवादी केन्द्रका प्रमुख र उपप्रमुखलाई जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीले सघाउने सहमति भएको छ ।

उता, एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा एमालेले भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमार आचार्यलाई उम्मेदवार बनाएको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह तथा सबैको ध्यान केन्द्रित हुने यस नगरपालिकामा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

जिल्लाका दश स्थानीय तहमध्ये छवटामा काँग्रेससहित चार र चारवटामा काँग्रेस बाहेक तीन दलबीच चुनावी तालमेल भएको छ । काँग्रेस, माओवादी केन्द), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच केन्द्रीय गठबन्धनलाई कायम राख्दै जिल्लाका दशवटै स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने सहमति अनुसार उम्मेदवारी दर्ता गराएका छन् ।

यसैबीच, दश स्थानीय तह रहेको जिल्लाका चार स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाइएको छ । एमालेले दुई, काँग्रेस र माओवादी केन्द्रले एक÷एक स्थानीय तहमा महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएको हो ।

हलेसी तवाचुङ नगरपालिकाको प्रमुखमा काँग्रेसबाट विमला राईको मनोनयन दर्ता भएको छ । यसअघि उपप्रमुख निर्वाचित हुनुभएकी राईलाई यसपल्ट पार्टीले प्रमुखको उम्मेदवार बनाएको हो ।

वि.स. २०७४ सालको स्थानीय तहमा पाँच स्थानीय तहमा महिलालाई प्रमुखको उम्मेदवार बनाएको माओवादी केन्द्रले यसपल्ट भने जन्तेढुङ्गा गाउँपालिकामा मात्र महिलालाई प्रमुखको उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा समेत माओवादी केन्द्रबाट प्रमुखको उम्मेदवार बन्नुभएकी अरुणादेवी राईलाई यस पटक सत्ता गठबन्धनले पुनः प्रमुखमा उम्मेदवार बनाएको हो ।

एमालेले खोटेहाङ गाउँपालिकामा कविता राई र बराहपोखरी गाउँपालिकामा गोमा मगरलाई प्रमुखको उम्मेदवार बनाएको छ । प्रमुखको उम्मेदवार बन्नुभएकी राई र मगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा विजयी हुनुभएको थियो ।

दश स्थानीय तहमा कुल एक हजार ३३० जनाको मनोनयन दर्ता हुँदा ७९ महिला वडा सदस्यका लागि २३४ र ७९ दलित महिला सदस्यका लागि २२२ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा एक लाख ४३ हजार ७५२ जना मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया