खोटाङ, खोटाङको रावाबेँसी गाउँपालिकाका एमालेका अध्यक्षका उम्मेद्वार हरिकुमार पोखरेलले आफु निर्वाचित भए पारिश्रमिक नलिने घोषणा गरेका छन् । आगामी ३० बैसाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारका क्रममा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा बुधबार आयोजित चुनावीसभालाई सम्बोधन गर्नेक्रममा उम्मेदवार पोखरेलले अध्यक्षमा निर्वाचित भए पारिश्रमिकलाई सामाजिक काममा खर्च गर्ने घोषणा गरेका हुन् ।
पोखरेलले आफु अध्यक्षमा निर्वाचित भएको खण्डमा आफुले पाउने पारिश्रमिकलाई कोषमा जम्मा गर्ने व्यवस्था मिलाएर गाउँपालिका भित्रका दलित, माझी जस्ता पिछडिएको वर्गको शिक्षा तथा स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा गरेका छन् । रावा बेँसीमा एमालेबाट उपाध्यक्षमा कौशिला गुरुङ उठेकी छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा एमालेका लिलानाथ निरौला र उपाध्यक्षमा समला राई निर्वाचित भएका थिए । निरौला र राई हाल पोखरेल र गुरुङको पक्षमा जनमत जुटाउन चुनावी अभियानमा जुटेका छन् । पोखरेल सोझो र इमान्दार नेताका रुपमा परिचित छन् ।