निर्वाचनमा एक हजार ३० जना कर्मचारी र तीन हजार सुरक्षाकर्मी खटाइयो

Halesi Khabar
0 Shares

खोटाङ, २६ वैशाख । नेपाल सरकारले यही वैशाख ३० गते देशभर एकैसाथ सम्पन्न गर्न लागेको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । दश स्थानीय तह रहेको खोटाङमा एक हजार ३० जना निजामति कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षित र मर्यादित बनाउन प्रत्येक मतदानस्थललाई केन्द्रित गर्दै एक हजार नेपाली सेना, ३०० सशस्त्र प्रहरी र ७०० जनपथ प्रहरी तथा एक हजार ८७ जना म्यादी प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १३६ मतदानस्थल र १९४ वटा मतदान केन्द्र निर्धारण गरिएकामा ३५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ४३ वटा मतदान केन्द्र सामान्यमा राखिएको छ ।

सुरक्षा संयन्त्रको पहुँच, बिगतमा भएका घटना र भौगोलिक बिकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरेर शान्ति÷सुरक्षाको व्यवस्था मिलाउने तयारी गरिएको सुरक्षा समितिका संयोजक एवम् प्रजिअ दाहालले जानकारी दिनुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई धाँदलीरहित तथा मर्यादित बनाउन निर्वाचनमा भाग लिएका जल्लास्थित सबै राजनीतिक दलले प्रतिवद्धतासमेत जनाएका छन् ।

मतदानस्थल तथा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतसहितका कर्मचारीलाई आवश्यक निर्वाचन सामग्रीसहित कार्यक्षेत्रमा पठाइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका कार्यालय प्रमुख राजेश गौतमले जानकारी दिनुभयो । “मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी तालिम दिएर तोकिएको कार्य क्षेत्रमा पठाइएको छ”, उहाँले भन्नुभयो, “वैशाख ३० गते हुने निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने अपेक्षा गरेका छौँ ।”

निर्वाचन सफल पार्न जिल्लास्थित क्रियाशील राजनीतिक दललाई समेत अमर्यादित गतिविधि नगर्न अनुरोध गरिएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश मात्रिकाप्रसाद आचार्यले बताउनुभयो । “यसअघि केही ठाउँमा निर्वाचन आचासंहिता बिपरित गतिविधि भएको पाएका थियौँ”, उहाँले भन्नुभयो, “जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रमुखलाई कार्यालयमा बोलाएर अनुरोध गरेपछि निर्वाचन आचारसंहिता बिपरित टाँगिएका तुल÷ब्यानर हटाइएको छ ।”

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दलहरुबीच चुनावी तालमेल भएको छ भने, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) एक्लै चुनावी मैदानमा उत्रिएको छ । सत्ता गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच छवटा स्थानीय तहमा पूर्ण र चारवटामा आंशिक तालमेल भएको छ ।

वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका दश स्थानीय तहमा एक लाख ४३ हजार ७५२ जनाले मतदान गर्न पाउने भएका छन् । महिला ६८ हजार ७४६ र पुरुष ७५ हजार ६०० जना मतदाताले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिनुभयो ।

देशभर एकैसाथ गर्न लागिएको निर्वाचन मिति नजिकिएसँगै जिल्लामा क्रियाशील राजनीतिक दलका नेताहरु जनताको घरदैलोमा भोट माग्न व्यस्त छन् । सत्ता गठबन्धन चार राजनीतिक दलले चुनावी तालमेल भएका स्थानीय तहमा दलले संयुक्त घोषणपत्र जारी गरेर जनताको घरदैलोमा भोट मागिरहेका छन् ।

चुनावी तालमेल गरेका चार राजनीतिक दलले जिल्लाका दशवटै स्थानीय तहमा आफूहरुको जीत सुश्चित रहेको दाबी गर्दै आएका छन् भने, एमालेले गठबन्धन दलभित्रको मतभेदका कारण अधिकांश स्थानीय तहमा आफूहरुको जीत हुने बताउँदै आएका छन् । वि.सं. २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले पाँच, नेपाली काँग्रेस चार तथा नेकपा (माओवादी केन्द्र) एउटा स्थानीय तहमा विजयी भएको थियो ।

तपाईको प्रतिक्रिया